नेपालगन्ज : बाँकेलाई शनिवार साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको थियो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१ औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा बाँके ११ औं नम्बरमा पर्दछ ।
साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताउनुभयो । बाँकेलाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री अथकले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न बाँकी छ, उहाँले भन्नुभयो, अझैं ३.४४ प्रतिशत साक्षर हुन बाँकी छन्, त्यसैले सम्बन्धित सबैलाई पूर्ण साक्षर अभियानमा लाग्न आग्रह गर्दछु ।
उहाँले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै पालिकाहरुले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान संचालन गर्नुपर्नेमा समेतमा जोड दिनुभएको छ ।
बाँकेका ८ वटै पालिकालाई साक्षर घोषणा गरेसँगै जिल्लालाई समेत साक्षर जिल्ला घोषणा गरिएको छ । कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले बताउँनुभयो । २०७६ सालमै साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरुप ५० लाख रुपैया प्राप्त गरेको थियो ।
त्यसैगरी खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगन्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएको छ । बिभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा पालिकालाई साक्षर घोषणा गरीएको छ ।
