नेपालगन्ज : असार पनि सकिनै लाग्यो । खेतमा समयमै पानी नहुँदा किसानलाई धान रोपाई गर्न समस्या भैरहेको बताउछन् । कतै धान भित्राउन व्यस्त छन भने कतै धान रोपाईमा व्यस्त देखिने किसान यतिवेला पानी खोज्नमा समेत व्यस्त देखिने गरेका छन् ।
चैतमा लगाएको धान यतिवेला जिल्ला जिल्लामा धान भित्राउन व्यस्त रहेका छन् भने कतै धान लगाउन चटारो लागेको छ । दाङ बंगलाचुली गाउँपालिकाका किसानलाई चैते धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । अधिकांश ठाउँहरूमा धान रोपाइँको चटारो चलिरहेका बेला बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरू भने चैते धानबाली घरमा भित्र्याउन भ्याइनभ्याइ भएको हो ।
सुकाखोला आसपासका स्थानीयहरू चैते धानबाली स्याहार्न पाउँदा दंग छन् । विगतका वर्षभन्दा यो पाली धानबाली राम्रै भएको छ । धान रोप्दै खेतमा नयाँ वर्ष मनाएका उनीहरू असारको तेस्रो सातामा धान पाकेपछि स्याहार्न व्यस्त भएका हुन् ।
खोला छेउका डाबरहरूमा चैते धान रोप्दै आएका कृषकहरूले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिँदै आएका छन् । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करिब दुई हजार पाँच सय बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ ।
यसका लागि स्थानीय सरकारले कृषकलाई चैते धान उत्पादनका लागि प्रोत्साहन नगरे पनि स्थानीय कृषक परम्परागत रूपमा यसलाई निरन्तरता दिँदै आएका छन् ।
यस्तै बाँकेमा यो वर्ष ढिलोगरी धान रोपाई शुरु भएको छ । बाँकेमा असारको अन्तिम हप्ता लागिसक्दा २० प्रतिशत हाराहारीमा रोपाई भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले २० प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिनुभयो ।
यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाई शुरु भएको हो । असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । किसानले आकाशेपानीले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । बोरिङ, ह्याण्डपम्प चलाएर बीउ राखिएको थियो । कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन । अलि पहिला बीउ राखेका किसानले यतिबेला रोपाइँ गरिरहेका छन् । बाँकेमा यो वर्ष राम्ररी पानी पर्न सकेको छैन । १५ गतेयता हल्का–हल्का वर्षा भएको छ । गौरवको आयोजना सिक्टाले पानी छोडेको छ । सिक्टाले अझै किसानको खेतमै पानी पुर्याउने गरी संरचना बनाइसकेको छैन ।
सिक्टाको पानी खोलानालाहरूमा छोडिएको छ । त्यहाँबाट किसानले पम्पसेट लगाएर पानी खेतमा पुर्याइरहेका छन् । बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्दछ । आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती राम्रो हुन सकेको छैन । गतवर्ष समयमै धान रोपाइँ भएपनि कात्तिकमा आएको बेमौसमी बाढीले धानमा ठूलो क्षति पुर्याएको थियो । त्यो क्षतिले गर्दा बाँकेमा उत्पादन ह्वात्तै घटेको छ । धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपेपनि पछि बाढीले क्षति पुर्याउने गरेको छ ।
