नेपालगञ्ज, असार १५ गते । धान दिवसको दिनसम्म पुग्दा बाँकेमा पाँच प्रतिशत रोपाइँ मात्र सम्पन्न भएको छ ।
बाँके जिल्लामा यस वर्ष वर्षा ढिलो हुँदा १५ असार अर्थात धान दिवसका दिन बुधवारसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको हो । सो कार्यालयका प्रमुख सागर ढकालका अनुसार गतवर्ष धान दिवसको दिनसम्म पुग्दा जिल्लामा ४५ प्रतिशत रोपाई सकिएकोमा यस वर्ष वर्षा नहुँदा हालसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो । जिल्लाका करिब सबै किसानको व्याड तयार रहेकाले मङ्गलवार रातीबाट ठूलो वर्षा भएकाले अब तीव्र गतिमा रोपाइँ हुने उहाँले बताउनुभयो । गतवर्ष समयमा आकाशे पानी परेकाले किसानले धान दिवस मनाइरहँदा आधा जति रोपाइँ सम्पन्न गरिसकेकोमा यस पटक भर्खरै शुरु भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।
केन्द्रका प्रमुख ढकालले हालसम्मको अवस्थालाई हेर्दा यस वर्ष विगतभन्दा ढिलागरी रोपाइँ सम्पन्न हुने देखिएको छ । गतवर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्विन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने आशा गरिएको केन्द्रले जनाएको छ । बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुनेगरेको छ ।
जिल्लाका अधिकांश किसानले यस वर्ष पनि राधा –४, सुख्खा –३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गर्ने तयारी गरेका छन् ।
बाँकेमा यस वर्ष राप्तीसोनारी ३ भगवतिपुरमा विविध कार्यक्रम गरेर औपचारिक रुपमा धान दिवस मनाइएको ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख ढकालले बताउनुभयो । धान दिवसको अवसरमा राप्तीसोनारी ३ भगवतीपुरमा कृषि ज्ञान केन्द्र, वाली संरक्षण प्रयोगशाला खजुरा र माटो तथा मल परीक्षण प्रयोगशाला खजुराको संयुक्त आयोजनामा सामूहिक धान रोपाइँ, हिले दौड, हिले कबड्डी र रोपाइँ प्रतियोगिता गरिएको बताउनुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनीषासिंह थारु रहनुभएको थियो । उक्त क्षेत्र वरिपरिका किसानहरु ठूलो संख्यामा जम्मा हुनुभएको थियो । यस्तै बाँकेमा धान दिवस अर्थात असार १५ का अवसरमा बिभिन्न क्षेत्रमा कार्यक्रमहरु गरेर मनाइएको छ । यसै क्रममा बाँकेको जानकी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।
धान दिवसका अवसरमा बुधबार खेतमा रोपाइ गरेर दही च्यूरा खाएर १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई गरेर जानकीमा महोत्सव मनाइएको हो । धान दिवस तथा रोपाइ महोत्सव २०७९ लाई जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले उद्घाटन गर्नुभएको थियो । जानकीको वडा नम्बर ४ छत्तरपुरस्थित धान रोपाई विशेष कार्यक्रम गरिएको हो ।
समयमै बर्षा नभएकाले रोपाइमा ढिलाइ भएको जानकी गाउँपालिका कृषि शाखाका प्रमुख मनोज मण्डलले बताउनुभयो । विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।महोत्सवमा जानकी गाउँपालिका प्रमुख प्रशासकीय बस बहादुर राना, कृषि शाखा प्रमुख मनोज मण्डल, कृषि अधिकृत नवीन चलाउने, वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार वर्मा, नायव प्राविधिक सहायक दीप बहादुर कार्की, नायव प्राविधिक सहायक तारा ग्वाली, वडा नम्बर ४ का वडा सदस्य राम सनेहि कहार, योजना शाखा अधिकृत शोभा पौडेल, कम्पुटर अपरेटर प्रतीक्षा बस्नेत, वडा सचीव शिवबहादुर थापाक्षेत्री, योजना शाखा सहायक राजेन्द्र प्रसाद बाजपेयी, नायव पशु सेवा प्राविधिक रामसुरत यादव, शिक्षा शाखा सहजकर्ता अयोध्या प्रसाद यादव, सामाजिक परिचालक सन्त सरुन सोनकर लगायत २ दर्जन बढिको उपस्थित रहेको थियो ।
