(Wednesday 28th of October 2026)
`

लगडाउनलाई थप कडाई गर्दै खजुरा

  • सगरमाथा गन्तब्य
  • 12.4K
    SHARES

    खजुरा, ७ बैशाख
    बाँकेको खजुरा गाउँपालिकाले लगडाउनलाई थप कडाईका साथ अगाडि बढाएको छ । भारतसंग जोडिएको र अन्य पालिका तथा जिल्लासंग जोडिएका नाकाहरुमा कडाई गर्नुका साथै भारतबाट आयात हुने तरकारीमा पनि रोक लगाएको छ । कोरोनाको जोखिम बढ्दै गइरहेको भन्दै कुनै पनि लापरवाही हुन नदिन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले सुरक्षा निकाय तथा स्वास्थ्यका कर्मचारीलाई निर्देशन दिएका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ राधापुर क्षेत्र भारतसंग जोडिएकाले त्यहाँ सशस्त्र प्रहरी तथा राधापुर चौकीले निगरानी बढाएका छन् भने स्वयमसेवक दस्ता पनि परिचालित हुने गरेको छ । पश्चिम क्षेत्र मानखोलाले छुट्याएको छ र बर्दिया जिल्लासंग सीमा जोडिएको छ त्यहाँ पनि नेपाल प्रहरीले निगरानी बढाएको छ । पूर्वी, उतरी र अन्य नाकाहरुमा आवतजावतमा कडाई गरिएको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिए । बेलाबेलामा सीमा क्षेत्रमा आफै पुग्ने गरेका प्रमुख कक्षपतिले सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई नाकाबाट पूर्णरुपमा आवतजावत रोक्न निर्देशन दिएका छन् । खजुरा क्षेत्रका किसानहरुले उत्पादन गरेको तरकारी, दुध तथा कुखुरा लगायतका कृषि उत्पादनको बजारीकरणका विषयमा खजुरा क्षेत्रका अगुवा कृषक र कृषि सहकारीका प्रमुखसंगको छलफल राखेर खजुरामै कृषि उपजको खपत गर्ने विषयमा जोड दिइएको छ ।

    क्वारेनटाइनमा बस्ने घट्दै
    खजुरा गाउँपालिका वडा नं. १ राधापुरस्थित मैटहवा माविमा संचालन भएको क्वारेनटाइनमा हाल ७ जना मात्र रहेका छन् । उक्त क्वारेनटाइनको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष देविलाल खनालका अनुसार ६२ जना क्वारेनटाइनमा आएकोमा अवधी पूरा गरेर स्वास्थ्य जाँचपछि क्वारेनटाइनमा बसेको प्रमाणपत्र लिएर ५५ जना घर फर्किएका छन् । खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, वडा नं. १ का जनप्रतिनिधि, नेकपा युवा नेता शालिकराम खड्का, मुमबहादुर ओलीलगायतका युवाहरु क्वारेनटाइनको व्यवस्थापनका लागि खटेको खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष खनालले जानकारी दिए । वातावरणीय दृष्टिकोणले समेत राम्रो रहेको मैटहवा माविको क्वारेनटाइनमा वाइफाई सहित सुविधा सम्पन्न रहेको खजुरा गाउाँलिका राजनीतिक सल्लाहकार भीम ओलीले बताए ।
    ११ हजार ८६ घरमा पुगे महिला स्वास्थ्य स्वयमसेविका
    खजुरामा परिचालित भएका महिला स्वास्थ स्वयंसेबिका ११ हजार ८६ घर पुगी पारिवारिक विवरण संकलन गरेका
    छन् । खजुरा गाउँपालिकामा रहेका ८ वडामा १०८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालित थिए । उनीहरुले विवरण संकलन गरी खजुरा गाउँपालिकालाई स्वास्थ्य शाखामार्फत बुझाई सकेका छन् । कोरोनाबाट जोगिन वास्तविक अवस्था थाहा पाउने उद्देश्यले उनीहरुलाई केन्द्र सरकारको निर्णय अनुसार परिचालन गरिएको खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले जानकारी दिइन । महिला स्वास्थ्य स्वयम्सेविकाले गाउँपालिकालाई उपलब्ध गराएको विवरण अनुसार हाल खजुरामा ११ हजार ८७ घरधुरी, परिवार सदस्य संख्या ६३ हजार २०३ जना, विदेशमा रहेका ४ हजार ३३४, विदेशबाट फर्किएका ३५०, क्वारेनटाइनमा ६२ हालसम्म आएका र होम क्वारेनटाइनमा २५३ जना बसेको देखिएको छ । स्वेमसेविका वडामा पुगेर विवरण लिनु पहिला उनीहरूलाई परामर्श दिइएको थियो । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिएका थिए । भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गरिएको हो ।


    बटुवालाई खाना खुवाउन मेस
    खजुरा गाउँपालिका भएर बाहिरी जिल्लाका श्रमिकहरु घर फर्किने क्रममा उनीहरुको भोको पेट भर्न खजुरा गाउँपालिका वडा नं. ६ सिन्दुरेमा मेस संचालन गरिएको छ । सामाजिक दूरीलाई कायम राख्दै दुख पाएर आएका श्रमिकका लागि उक्त मेसमार्फत खाना खुवाउन वडा नं. ६ का अध्यक्ष अतिउल्ला खाँको नेतृत्वमा टोली खटाइएको
    छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology