काठमाडौं, ०५ बैशाख । गृह मन्त्रालयले आजबाट लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोना संक्रमित बढ्दै गएपछि मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको हो । गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्ने भएका छन् । गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ । सुरक्षा निकाय, दुवै प्रहरी संगठन र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर मानिस आवतजावत कडाइका साथ नियन्त्रण गर्न निर्देशन गरिएको छ । निर्देशन अवज्ञा गरेर हिडडुल गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने छ । वैशाख २ गते नै बसेको मन्त्रिपरिषद् बैठकले भारतीय सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै नाका सिल गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो । न्युज २४ नेपालबाट
