नेपालगन्ज । बाल दिवसको अवसर पारेर बाँकेको जानकी गाउँपालिकामा लागुऔषध दुव्र्यसन तथा बालविवाहविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । ‘कोपिला फुल्न देऊ’ नामक सडक नाटक बिहीवार जानकी गाउँपालिकामा प्रदर्शन गरिएको हो ।
बालबालिकालाई बालविवाह, लागुऔषध दुव्र्यसनलगायतका सामाजिक विकृतिबाट जोगाउँदै उनीहरूको अधिकार, शिक्षा र सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ । नाटकमार्फत बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पर्न सक्ने असर तथा लागुऔषध दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे सन्देश प्रवाह गरिएको थियो ।

सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग, जानकी गाउँपालिका बाँकेको आयोजना तथा बाल क्लब सञ्जाल जानकी गाउँपालिका बाँकेको समन्वयमा सडक नाटक कार्यक्रम सम्पन्न भएको हो ।
सडक नाटक प्रदर्शन कार्यक्रमको अध्यक्षता जानकी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख रामअचल धोबीले गर्नुभएको थियो । कार्यक्रममा जानकी गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा, वल्ड भिजन इन्टरनेशनल नेपाल बाँकेका स्पोन्सर सिप अफिसर नेहा श्रेष्ठ, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, अनुगमन अधिकृत अमृत विष्ट, फिल्ड मोबिलाइजर शोभाराम कुर्मी, पार्वती बिसी मिना अधिकारी र सरस्वती विसीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लबका पदाधिकारी तथा सदस्य, स्थानीयवासी र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । सडक नाटकले बालबालिकाको संरक्षण, उनीहरूको अधिकारको सम्मान तथा बालमैत्री समाज निर्माणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् । सडक नाटक हुनुभन्दा अगाडी जानकी गाउँपालिकाको कार्यालयबाट बालवालिकाहरुले ¥याली समेत निकालेका थिए ।



