नेपालगन्ज, बाँके । सगरमाथा इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल नेपालगन्ज–१८, बाँकेले बाढीपीडित परिवारका लागि राहतस्वरूप आर्थिक सहयोग प्रदान गरेको छ ।
भदौ १० गते आएको भीषण बाढीका कारण भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि विद्यालयले ३१ हजार ५ सय रुपैयाँ सहयोग गरेको विद्यालयका एमडी कौशलराज पाण्डेयले जानकारी दिनुभयो ।
बाढीका कारण रसुवा, चितवन, धादिङलगायत विभिन्न जिल्लामा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक पर्ने भएकाले विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको पाण्डेयले बताउनुभयो ।
विद्यालयले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारलाई समेत सामाजिक सेवामा जोड्ने उद्देश्यले राहत सहयोग गरेको जनाएको छ ।
बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको दैनिकीमा समेत गम्भीर असर पर्ने भएकाले राहत तथा पुनःस्थापनाका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको विद्यालयले जनाएको छ । विद्यालयको सहयोगले विपद्मा परेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

