(Friday 11th of September 2026)
`

माटो, पानी र वन संरक्षणमा जानकी गाउँपालिकाको जोड

  • सगरमाथा गन्तब्य
  • 3.1K
    SHARES

    बाँके । माटो, पानी, वन तथा खोलानालाको संरक्षणसँगै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकामा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजनामा, जानकी गाउँपालिकाको समन्वय तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा जानकी गाउँपालिकाका कृषि शाखा अधिकृत अशिम पौडेलले माटोको परिचय, कृषि उत्पादनमा माटोको महत्व, आधुनिक तथा थोपा सिँचाइ प्रविधि र माटो संरक्षणका विभिन्न उपायबारे प्रशिक्षण दिनुभयो । उहाँले माटोको गुणस्तर कायम राख्न सके कृषि उत्पादनमा वृद्धि हुनुका साथै दिगो कृषि प्रणाली विकास गर्न सकिने बताउनुभयो । माटोको संरक्षणका लागि रासायनिक मलको उचित प्रयोग, जैविक पदार्थको प्रयोग तथा पानीको व्यवस्थित व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
    यस्तै, जानकी गाउँपालिकाका विपत् शाखा प्रमुख राजेन्द्र बाजपेईले विपत्का समयमा आवश्यक पर्ने समन्वय तथा सहकार्यका विषयमा जानकारी गराउनुभयो । उहाँले मौसम परिवर्तन, वातावरण प्रदूषणका कारण, पानीका मुहान सुक्दै जानु तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सहभागीलाई जानकारी दिनुभयो । साथै उहाँले मौसम र जलवायुबीचको फरक तथा जलवायु परिवर्तनले स्थानीय समुदाय र कृषि क्षेत्रमा पार्ने प्रभावका विषयमा समेत प्रशिक्षण दिनुभएको थियो ।


    कार्यक्रममा हातेमालो परियोजनाका कार्यक्रम संयोजक भीमबहादुर सार्कीले परियोजनाका गतिविधि तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभयो । उहाँले स्थानीय समुदायको सहभागितामार्फत प्राकृतिक स्रोतको संरक्षण र वातावरणमैत्री गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
    सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधि, कृषक, बालबालिका, पत्रकार लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले माटो, पानी, वन तथा जलस्रोत संरक्षणलाई स्थानीय तहको योजना र समुदायको व्यवहारसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखेका थिए । एसडिएफ बाँकेले जानकीमा बालवालिका, जलवायु र शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology