(Wednesday 28th of October 2026)
`

युवालाई विकासका साझेदार बनाउनुपर्नेमा जोड

  • सगरमाथा गन्तब्य
  • 4.7K
    SHARES

    नेपालगन्ज – युवा घर नेपालगन्जको पाँचौँ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन बुधवार सम्पन्न भएको छ । संस्थाले वर्षभरी गरेका कार्यक्रमको समिक्षा तथा भावि कार्ययोजना तय गर्दै सो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अम्बिका काफ्लेले युवाहरूको क्षमता, सीप र सिर्जनशीलतालाई समाज र राष्ट्र निर्माणमा जोड्नुपर्ने बताइन् । युवालाई अवसर र जिम्मेवारी प्रदान गर्न सके उनीहरू विकासका महत्वपूर्ण साझेदार बन्न सक्ने उल्लेख गर्दै उनले युवा लक्षित कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन तीनै तहका सरकार तथा गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक रहेको बताइन् । युवाहरूलाई नेतृत्व विकास, सीपमूलक शिक्षा, रोजगारी र उद्यमशीलतासँग जोड्दै उनीहरूको भविष्य सुरक्षित बनाउने कुरामा युवा घरले काम गर्दै आएको बताउदै आगामी दिनमा सशक्त भएर काम गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले युवाहरूको सहभागिताबिना देशको समग्र विकास सम्भव नहुने बताए । युवाहरूलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा जोड दिँदै उनले युवाको क्षमता र ऊर्जालाई सही दिशामा परिचालन गर्न गैरसरकारी संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । युवा घर नेपालगन्जले युवाको क्षमता विकास, नेतृत्व निर्माण र सामाजिक क्षेत्रमा सक्रिय सहभागिताका लागि गर्दै आएको भूमिकालाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले युवाको क्षमता विकास र सकारात्मक परिचालनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

    युवाका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने गरी शिक्षा, सीप, खेलकुद, रोजगारी तथा नेतृत्व विकासका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । स्थानीय तहले युवालाई विकासका लाभग्राहीका रूपमा मात्र नभई विकास निर्माणका साझेदारका रूपमा अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै युवा घर नेपालगन्जजस्ता संस्थासँग सहकार्य र समन्वयलाई अझ मजबुत बनाउँदै लैजाने बताए । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १द्ध का वडा अध्यक्ष मजहर अली शाइले युवाको क्षमता र ऊर्जालाई सकारात्मक क्षेत्रमा परिचालन गर्नुपर्ने बताए । युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै युवालाई सामाजिक विकासमा सक्रिय सहभागी गराउनुपर्ने उनको भनाइ थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का कार्यबाहक वडा अध्यक्ष सोहन वर्मा नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, लगायतले शुभकामना दिएका थिए । युवा घरका सदस्य शिव कुमार वर्माले संचालन गरेको कार्यक्रममा उपाध्यक्षा वसन्ती रोकायाले स्वागत गरेका थिए । कार्यक्रममा युवा घरका अध्यक्ष भण्डारीले संस्थाले गरेका कार्यक्रम तथा भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । युवा घरको अध्यक्षमा वर्मा बुधबार सम्पन्न युवा घरको तेश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिबेशनको बन्द सत्रबाट शिव कुमार वर्माको अध्यक्ष्यतामा संस्थाको नयाँ कार्यसमितिको चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा वसन्ती रोकाया, सचिवमा रबिन्द्र बोहरा, कोषाध्यक्षमा शोभा थापा मगर, सहसचिवमा रमिता शाह चयन भएका छन् भने सदस्यमा क्रमश शुद्ध चौधरी, विवेक पराजुली, मनिष कर्माचार्य, सरीफ धोवि , प्रदिप बोहरा, मिना घर्ती चयन भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology