राप्तीसोनारी : राप्तीसोनारी गाउँपालिकाको सामाजिक परीक्षण सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा सामाजिक परीक्षण सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष तप्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सामाजिक परीक्षणको प्रारम्भिक प्रतिबेदन प्रश्तुत गरेका थिए । स्थानीय निकायलाई जनताप्रति जवाफदेहि बनाई स्थानीय निकायका सरकारका प्रतिनिधि र सर्वसाधारण नागरिक बिचमा विश्वासको वातावरण सिर्जना गर्ने, राप्तीसोनारी गाउँपालिकाले प्रदान गर्ने सेवालाई थप पारदर्शी र गुणस्तरिय बनाउने, राप्तीसोनारी गाउँपालिकाले संचालन गरेका कार्यक्रमहरुको लक्ष्य, उद्धेश्य, बजेट आम्दानी र यसबाट प्राप्त उपलब्धि र खर्चको सरोकारवालाहरुलाई जानकारी गराउने, कार्यक्रम संचालन गर्दा प्राप्त चुनौती, उपलब्धि, सिकाई सार्वजनिक र श्रोत, साधनको सहि उपयोग गर्न पृष्ठपोषण लिने उद्धेश्यले सामाजिक परीक्षण गर्ने गरिन्छ । हरेक स्थानीय सरकारले अनिवार्य रुपमा बार्षिक रुपमा सामाजिक परीक्षण गर्ने कानुनी प्राबधान छ । सन्दर्भ सामाग्री अध्ययन र समिक्षा, अन्तवार्ता, भेटघाट, स्थलगत अवलोकन, समूह केन्द्रित छलफल, सूचनाहरुको संकलन तथा बिश्लेषण गरि सामाजिक परीक्षण गरिएको छ । सामाजिक परीक्षण अन्र्तगत आज प्रारम्भिक प्रश्तुतिकरण गरिएको हो । प्रारम्भिक प्रश्तुतिकरणमा बोल्दै अध्यक्ष पौडेलले सामाजिक परीक्षणबाट प्राप्त सुझावहरुलाई हृदयंगम गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए ।
