नेपालगन्ज : नेपालगन्ज स्थित मुनतारा ई.मि. स्कुलका कक्षा ९ र १० का विद्यार्थीहरूले शैक्षिक तथा धार्मिक महत्व बोकेको बागेश्वरी मन्दिर तथा गुम्बाको अवलोकन भ्रमण गरेका छन् । विद्यालयका प्रधानाध्यापक बिबेक शर्माको नेतृत्वमा सम्पन्न उक्त भ्रमणमा विद्यार्थीहरूले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे जानकारी प्राप्त गरेका थिए ।
भ्रमणका क्रममा विद्यार्थीहरूले बागेश्वरी मन्दिर परिसरको अवलोकन गर्नुका साथै पूजा–आराधना समेत गरेका थिए । साथै, निर्माणाधीन अवस्थामा रहेको भगवान् हनुमानको विशाल मूर्तिको पनि अवलोकन गरेका थिए । उक्त मूर्तिको बनावट, कला तथा धार्मिक महत्वबारे जानकारी दिइएको थियो, जसले विद्यार्थीहरूमा थप उत्साह र जिज्ञासा बढाएको देखिन्थ्यो ।
त्यसैगरी गुम्बा भ्रमणका क्रममा विद्यार्थीहरूले बौद्ध धर्म, शान्ति, अनुशासन तथा ध्यानसम्बन्धी जानकारी हासिल गरेका थिए । भ्रमणले विद्यार्थीहरूमा धार्मिक सहिष्णुता, सांस्कृतिक सम्मान तथा सामाजिक ज्ञान वृद्धि गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ ।
विद्यालय प्रशासनका अनुसार यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै इतिहास, कला र संस्कृतिप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
