नेपालगन्ज – प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र रोल नं. १ को टिम सोमवार नेपालगन्ज–१८ कारकादोस्थित सगरमाथा ई. बो. सेकेण्डरी स्कूल पुगेको छ । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारप्रसार अभियानअन्तर्गत कलाकार तथा निर्माण टिम सगरमाथा विद्यालय पुगेका हुन् ।
विद्यालयमा आयोजित कार्यक्रममा चलचित्रका कलाकार मुकुन भुसाल, सुशाङ्क मैनाली, रेणुनाथ योगी, एवन राज उप्रेती र कर्मा लामा लगायतको सहभागिता रहेको थियो । साथै चलचित्रका मिडिया संयोजक पवन भट्टराई, चलचित्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष राम चन्द्र पौडेल तथा चलचित्र युनिटका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

कलाकारहरुले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नुका साथै विभिन्न गेमसमेत खेलाएका थिए । कार्यक्रममा बोल्दै कलाकारहरुले शिक्षा क्षेत्रमा बालबालिकाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै चलचित्र रोल नं. १ ले शिक्षासँग सम्बन्धित ज्ञानवद्र्धक विषयवस्तु समेटेको बताएका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक कृष्ण बहादुर जिसी, व्यवस्थापन निर्देशक कौशल राज पाण्डेय, प्रिन्सिपल सिता खड्का, शिक्षक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रोल नं. १ को टिम आगामी जेठ १५ गते हुने प्रदर्शनलाई लक्षित गर्दै देशव्यापी प्रचारप्रसार अभियानमा सक्रिय बनेको छ । सोमवार नेपालगन्ज पुगेको चलचित्रको टिमले क्यूएफएक्स सिनेमाज र रोयल सिनेमाजमा दर्शकसँग भेटघाट गर्नुका साथै सगरमाथा ई. बो. सेकेण्डरी स्कूल मा विशेष कार्यक्रम आयोजना गरेको थियो । विद्यालयमा आयोजित कार्यक्रममा कलाकारहरुले विद्यार्थीहरुलाई मनोरञ्जनात्मक खेलमार्फत सहभागी गराउँदै चलचित्रको विषयवस्तुबारे जानकारी दिएका थिए । कलाकारहरुले चलचित्रले शिक्षा, अनुशासन र विद्यार्थी जीवनसँग सम्बन्धित सकारात्मक सन्देश बोकेको बताएका छन् ।

विद्यालय प्रशासनले पनि चलचित्रको टिमलाई स्वागत गर्दै विद्यार्थीमाझ सिर्जनात्मक तथा प्रेरणादायी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरेको थियो । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

