नेपालगन्ज : किशोरी र बालक्लबका पदाधिकारीहरुका लागि जिवन उपयोगी सिप बिषयक दुई दिने तालिम खजुरा गाउँपालिका वडा नम्बर ३ मा शुरु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ३ को सहयोग तथा बास नेपालको आयोजनामा चैत्र २३ गते देखि उक्त तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै तालिमका प्रमुख अतिथि खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्ण बहादुर भण्डारीले किशोरी तथा बालक्लबका पदाधिकारीहरुलाई ब्यवहारिक शिप प्रदान गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए । जिवन उपयोगी सिप तालिमले ब्यक्तिको व्यवहारसँगै जिवन शैलीनै परिवर्तन हुने भन्दै उनले तालिममा सक्रियता पूर्वक सहभागिता जनाउन सहभागिहरुलाई अनुरोध गरे । किशोरी र बालवालिका लक्षित कार्यक्रमलाई जोड दिने वडाको योजना रहेको भन्दै उनले आगामी दिनमा समेत आवश्यकता अनुसार बालवालिका र किशोर किशोरीहरुका लागि क्षमता अभिबृद्धी र ब्यवहार परिवर्तनका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
यसैगरी कार्यक्रममा अतिथि तथा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले दैनिक जिवनमा आइपर्ने समस्या समाधानका उपाय जिवन उपयोगी शिप तालिमबाट प्रदान हुने बताए । तालिमलाई उपलब्धी मुलक बनाउन सक्रियता पूर्वक सहभागिता जनाउन उनले सहभागिहरुलाई अनुरोध गरेका थिए ।
बास नेपालका कार्यक्रम अधिकृत शोभा थापा मगरले सञ्चालन गरेको तालिममा स्वागत तथा तालिमको उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । तालिममा जिवन उपयोगी सिप, बाल अधिकार संरक्षण, जिवन उपयोगी शिपका तत्वहरुका बिषयमा खजुरा गाउँपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुशिला न्यौपाने, बास नेपालका निर्देशक हेमराज भट्ट, जमुना चौधरी, शोभा भण्डारी र शोभा थापा मगरले सहजिकरण गरिरहेका छन् । खजुरा गाउँपालिका वडा नम्बर ३ का ३५ जना बाल क्लब पदाधिकारी र किशोरीहरुको सहभागिता रहेको तालिमको उद्घाटनमा वडा नम्बर ३ का अध्यक्ष पूर्ण बहादुर भण्डारी, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, महिला तथा बालवालिका शाखा प्रमुख सुशिला न्यौपाने, वडा सचिब युवराज आचार्य, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्टको उपस्थिती रहेको थियो । तालिम चैत्र २४ गते समापन हुनेछ ।
