(Saturday 25th of July 2026)
`

बाँकेका किसानहरू स्ट्रबेरी खेतीतर्फ आकर्षित

  • सगरमाथा गन्तब्य
  • 2.5K
    SHARES

    नेपालगन्ज, करिब तीन महिनामै उत्पादन हुने र बजार मूल्य राम्रो पाउने भएकाले बाँकेका किसानहरू पछिल्लो समय स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका आसपासका धेरै किसानहरूले स्ट्रबेरी खेती सुरु गरेका छन् ।
    बैजनाथ गाउँपालिका–१, च्यामाका सर्पराज बस्नेतले दुई वर्षअघि पाँच कट्ठा जमिनमा करिब ९ हजार स्ट्रबेरी बिरुवा रोपेर खेती सुरु गर्नुभयो । करिब ६ लाख रुपियाँ लगानीमा उहाँले २५ क्विन्टल उत्पादन गरी नौ लाख रुपियाँ आम्दानी गर्नुभयो । छोटो समयमै फल तयार हुने र बजारमा माग उच्च रहेको कारण यसतर्फ आकर्षित हुने किसानहरू बढ्दै गएको बस्नेतले बताउनुभयो ।
    यस वर्ष उहाँले आफ्नै घरमा करिब ४ हजार बिरुवा उत्पादन गर्नुभएको छ । करिब ३ लाख रुपियाँ लगानीमा उत्पादन गरिएको सो बिरुवाबाट २० क्विन्टल स्ट्रबेरी उत्पादन गरी १३ लाख रुपियाँसम्म आम्दानी हुने बस्नेतको अनुमान छ ।
    उहाँकी श्रीमती शारदा बस्नेतका अनुसार यही व्यवसायबाट पाँच जनाको परिवारको गुजारा चलिरहेको छ । स्ट्रबेरी खेतीले पहिलेभन्दा परिवारको आर्थिक अवस्था सुधार गरेको र व्यवसायबाट उनीहरू सन्तुष्ट रहेको बस्नेतले बताउनुभयो ।
    केही वर्षअघि जिल्लाका केही किसानले स्ट्रबेरी खेतीबारे अनभिज्ञ भए पनि सफलता पाएपछि अन्य किसानहरूमा पनि आकर्षण बढेको छ । सामाजिक सञ्जालमार्फत स्ट्रबेरी उत्पादनको खबर फैलिँदा खेतमै पुगेर फल किन्न र टिकटक बनाउन आउनेको संख्या पनि बढेको किसानहरूले बताएका छन् ।
    बाँके राप्ती सोनारीका प्रेम पुन मगरले सामाजिक सञ्जालमार्फत स्ट्रबेरी खेतीबारे जानकारी पाएपछि अग्र्यानिक फल किन्न खेतमै पुगेको बताउनुभयो । त्यस्तै, कोहलपुरकी निना चन्दले पनि आफ्नै क्षेत्रमा उत्पादन भएको अग्र्यानिक फल किन्न खेतमै पुगेको जनाउनुभयो ।
    किसान र उपभोक्ताको बढ्दो आकर्षणसँगै स्ट्रबेरी खेतीले राम्रो सम्भावना देखाए पनि सरकारी सहयोगको अभाव चुनौतीका रूपमा देखिएको छ । उत्पादनदेखि बजार व्यवस्थापनसम्म प्रभावकारी नीति र सहुलियत उपलब्ध गराउन सके युवाको रोजगारी समस्या समाधानमा समेत टेवा पुग्ने कोहलपुर–४ का किसान रमेश थापाले बताउनुभयो । तर पर्याप्त नीति अभावका कारण बाँकेका किसानले सरकारी सहयोग र सहुलियत पाउन नसकेको थापाको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology