(Saturday 25th of July 2026)
`

बाँके र बर्दियाका महिलाहरुलाई मतदाता शिक्षा

  • सगरमाथा गन्तब्य
  • 2.9K
    SHARES

    नेपालगन्ज १२ फागुन । फागुन २१ गते हुन लागेको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित बाँके र बर्दियामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके बर्दियामा निर्वाचनलाई लक्षित गरि मतदाता शिक्षा शुरु गरेको छ ।
    बाँके र बर्दियामा विशेष गरी थारु, मधेशी, मुस्लिम, सिमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलाहरु र १८ वर्ष पुगेका युवा यवतीलाई मतदाता शिक्षा दिन लागिएको हो । मंगलबार बाँकेको जानकी गाउँपालिका वार्ड नंं २ मा मधेशी समुदायका महिलाहरुलाई मतदाता शिक्षा बारे अभिमुखीकरण गरिएको छ ।
    अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भुमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा अधिबक्ता विश्वजीत तिवारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी महिलाहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो ।
    कार्यक्रममा वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले मधेशी समुदायका महिलाहरु प्राय अशिक्षित भएकाले मतपत्रमा छाप लगाउने ज्ञान नभएकाले मत बदर बढी हुने गरेकोले यो मतदाता शिक्षाले सहयोग पुग्ने बताउनुभयो ।
    उहाँले मत अधिकारको प्रयोग गरी निर्वाचनमा सहभागी हुन आग्रह गर्दै मतदानबारे जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराइएको छ ।
    प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले बताउनुभयो । उहाँका अनुसार अभिमुखीकरणमा करिब ७० जना महिलाहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology