(Saturday 25th of July 2026)
`

जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन

  • सगरमाथा गन्तब्य
  • 2.7K
    SHARES

    खजुरा (बाँके), फागुन ३ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी आन्दोलनको मर्मलाई ओझेलमा पारेर आफ्ना निहित स्वार्थ पूरा गर्ने शक्ति नेपाली राजनीतिमा हाबी हुने प्रयास गरिरहेको बताउनुभएको छ । जेन्जी आन्दोलनमा घुसपैठ गरेर युवाहरुको मागलाई अल्मल्याउने काम भइरहेको बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएको पुनले बताउनुभएको छ । युवालाई सम्बोधन गर्ने क्रममा पुनले देशको वास्तविक समस्या समाधान गर्ने सामथ्र्य नेपाली कांग्रेसमा भएकोले युवालाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा विवेकपूर्ण निर्णय गर्न पुनले आग्रह गर्नुभएको छ ।
    उहाँले भन्नुभयो,‘जेन्जीका सकारात्मक मागलाई पन्छाउन खोज्ने, घुसपैठ गर्ने शक्ति, देश जलाउने वातावरण बनाउने शक्ति पनि हामीसँग निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । हामी हाम्रा सबै आन्तरिक समस्यालाई व्यवस्थापन गरेर देशको नेतृत्व गर्ने शक्ति बन्नुपर्नेछ ।’ नेपाली जनताको अधिकारलाई स्थापित गर्न कांग्रेसका थुप्रै नेताले बलिदानी दिएको प्रसँगबारे बताउँदै नेता पुनले जेन्जी आन्दोलनको सकारात्मक पक्षलाई आत्मसाथ गरेर कांग्रेस देश निर्माणमा लाग्ने प्रष्ट पार्नुभयो ।

    जेन्जी युवाले खोजेको रोजगारी र समृद्धिको सपना पूरा गर्ने संकल्पसहित नेपाली कांग्रेस अगाडि बढिरहेकोले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई मतदान गर्न आम मतदातालाई पुनले अपील गर्नुभयो । बाँके क्षेत्र नम्बर ३ को समग्र विकासको लागि आफूले इमान्दारिताका साथ काम गर्ने पुनले प्रतिवद्धता समेत जनाउनुभएको छ । उहाँले भन्नुभयो , ‘हाम्रा हरेक क्षेत्रका आ–आफ्ना समस्या र विशेषता छन् । बाँके क्षेत्र नम्बर ३ आफैंमा समृद्धिको सपना देखेर अगाडि बढिरहेको क्षेत्र हो । यस क्षेत्रका धेरै समस्या राज्यले नीतिगत रुपमा सुधार गर्नुपर्नेछ । त्यसको लागि म र मेरो पार्टीले नेतृत्व गर्ने विश्वास दिलाउन चाहन्छु ।’
    बाँके क्षेत्र नम्बर ३ को नेपाल–भारत सीमावर्ती क्षेत्रका जनताको समस्यालाई राष्ट्रिय एजेन्डाको रुपमा सम्बोधन गर्ने वातावरण निर्माणको लागि आफूले पहल गर्ने पुनले बताउनुभयो । नेपाल भारत सीमावर्ती क्षेत्रका जनताको जमिन बैंकले धितो नराख्ने समस्या छ । जसको लागि आफूले राज्यलाई नीतिगत रुपमा सम्बोधनको लागि दबाब दिने उहाँले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology