नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भएमा बाँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताउनुभएको छ ।
नेपालगन्ज १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफ्नो काम गराईलाई वडा नम्बर १ ले राम्ररी महसुस गरेको पनि दाबी गर्नुभयो । आफू सांसद र मन्त्री छँदा वडा नम्बर १ मा कार्यान्वयन गरेका आयोजनाहरूको दृष्टान्त दिँदै राईले वडा नम्बर १ आफूले सबैभन्दा धेरै माया गर्ने मध्येको एक भएको बताउनुभयो ।
‘यहाँका वडाध्यक्ष र म पहिले फरक पार्टीमा थियौं, विचारधारा पनि फरक थियो। तर आफ्नो ठाउँको विकासको सवालमा भने हाम्रो कुरा मिल्यो। वहाँ पनि काम गर्न चाहने मान्छे, म पनि । हामीले यो वडामा वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट, भवनहरू निर्माण अनि बाटोघाटो बनाउन मिलेर काम गर्यौं,’ राईले भन्नुभयो ‘फेरि पनि मलाई जिताउनुभयो भने म यहाँको मुहार फेर्नका लागि विकास निर्माणका थुप्रै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
पछिलो ३ वर्ष प्रतिनिधि सभामा बाँके क्षेत्र नम्बर २ को भूमिका विर्सनलायक रहेको राईको भनाई थियो । उहाँले आफ्नो कार्यकाल र अरूको विगतको कार्यकाल तुलना गरेर मूल्यांकन गर्न पनि मतदाताहरूसमक्ष आग्रह गर्नुभयो ।
