(Saturday 25th of July 2026)
`

राप्रपा उदयपुरका पूर्व सचिव अमीरबाबु थापा एमाले प्रवेश, चुनावी सरगर्मी बढ्यो

  • सगरमाथा गन्तब्य
  • 2.7K
    SHARES

    अन्जनी कुमार अधिकारी – उदयपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै जाँदा उदयपुरको राजनीतिक वृत्तमा नयाँ हलचल देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उदयपुर जिल्ला कमिटीका पूर्व सचिव अमीरबाबु थापा नेकपा एमालेमा प्रवेश गर्नु भएको छ।
    बुधबार नेकपा एमाले चौदण्डीगढी नगर कमिटी तथा चुनाव प्रचारप्रसार समितिको आयोजनामा आयोजित चुनाव लक्षित घरदैलो कार्यक्रममा थापा औपचारिक रूपमा एमाले प्रवेश गर्नु भएको हो। लामो समयदेखि राप्रपाको सक्रिय राजनीतिमा रहँदै आउनु भएका थापा स्थानीय स्तरमा प्रभावशाली युवा नेताका रूपमा परिचित हुनुहुन्छ।
    एमाले उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती), समानुपातिक सांसद कान्ता राई, एमाले उदयपुरका उपाध्यक्ष कालुमान लामा लगायतका नेताहरूले उहाँलाई टीका–खादा लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो। कार्यक्रम पश्चात् छोटो प्रतिक्रिया दिँदै नेताहरूले थापाको आगमनले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको थियो ।
    एमाले प्रवेशपछि प्रतिक्रिया दिँदै अमीरबाबु थापाले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्न नेकपा एमाले सक्षम शक्ति रहेको उल्लेख गर्नु भयो। उहाँले जनताको अपेक्षा अनुसार सुशासन, विकास निर्माण र स्थायित्वका लागि आफू एमालेको अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता जनाउनु भयो।
    चुनावी सरगर्मी बढ्दै गएको उदयपुरमा पछिल्लो समय विभिन्न दल परित्याग गरी नेताहरू अन्य दलमा प्रवेश गर्ने क्रम जारी छ। विश्लेषकहरूका अनुसार स्थानीय तहदेखि संघीय निर्वाचनसम्म प्रभाव पार्ने नेताहरूको दल परिवर्तनले निर्वाचनको समीकरणमा प्रत्यक्ष असर पार्ने देखिएको छ।
    एमालेले भने चुनाव लक्षित घरदैलो कार्यक्रम, भेटघाट तथा संगठन विस्तारलाई तीव्र बनाउँदै लगेका कारण पार्टीप्रति आकर्षण बढेको दाबी गरेको छ। थापाको प्रवेशलाई एमालेले आगामी निर्वाचनका लागि सकारात्मक संकेतका रूपमा लिएको छ।
    उदयपुरमा पुराना र नयाँ राजनीतिक शक्तिबीच प्रतिस्पर्धा चर्किँदै जाँदा यस्ता राजनीतिक घटनाक्रमले चुनावी माहोल थप रोचक बन्दै गएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology