(Saturday 25th of July 2026)
`

छैठौं स्मृति दिवसको अवसरमा ‘फ्याक्ट चेक–अन्तरसंवाद’ कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 3.4K
    SHARES

    नेपालगन्ज १५ माघ । नेपाल पत्रकार महासंंघ बाँकेले शाखाका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचा’ को छैठौं स्मृति दिवस मनाएको छ । विहिबार महासंघको नेपालगन्ज–४ संचारग्राम (बसपार्क) स्थित कार्यालयमा छैठौं स्मृति दिवस मनाइएको हो । पन्नालाल गुप्त प्रतिष्ठानको समन्वयमा आयोजित छैठौं स्मृति दिवसको अवसरमा ‘फ्याक्ट चेक–अन्तरसंवाद’ कार्यक्रम गरिएको छ ।
    शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुप्तको निष्ठा र इमानको पत्रकारितालाई अनुशरण गर्नुपर्नेमा जोड दिइएको छ । जीवनको अन्तिम क्षणसम्म पनि पत्रकारितामा सक्रिय गुप्त आदर्श पत्रकारिताको मानक रहेको सहभागीहरुले बताए । प्रजातन्त्र पुनर्वहालीका लागि गुप्तले मिसन पत्रकारितामार्फत पु¥याएको योगदानको समेत स्मरण गरिएको छ ।
    महासंघ कार्यसमिति सदस्य समिरमान श्रेष्ठले फ्याक्ट चेकका विषयमा ‘अवधारणा पत्र’ प्रस्तुतिकरण गरेको कार्यक्रममा सहभागीले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स रहेको भन्दै फ्याक्ट चेक सत्य, निष्पक्षता, पारदर्शिता र नैतिकतामा आधारित एक बौद्धिक अभ्यास भएको बताए । नेपाल पत्रकारसँग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारिताको मूल्य जोगाउन फ्याक्ट चेक अनिवार्य शर्त रहेको बताए । अहिले निर्वाचनको पूर्व सन्ध्यामा यसमा अझ सजग र जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड छ ।
    कार्यक्रममा पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष एवम् गुप्तका जेष्ठ सुपुत्र वरिष्ठ अधिबक्ता विजय कुमार गुप्त, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्षद्वय झलक गैरे र निरज कुमार गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस सेन्टर नेपाल बाँकेका सचिव पुष्पराज हमाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सचिव जय नारायण शाह, अग्रज पत्रकार अछरी पोखरेल लगायतले स्वर्गीय गुप्तप्रति श्रद्धासुमन अर्पण गर्दै मर्यादित र जिम्मेवार पत्रकारितामा जोड दिएका थिए ।
    महासंघ अध्यक्ष गिरीले गुप्तको स्मृति दिवसको अवसर पारेर उनको पत्रकारिताको आलोकमा निष्पक्ष, मर्यादित र जिम्मेवार पत्रकारितालाई प्रवद्र्धन गर्नका लागि ‘फ्याक्ट चेक’ अर्थात् तथ्य जाँचको विषयमा ‘सेन्सटाइज’ गर्न कार्यक्रम गरिएको बताए । उनले निर्वाचनको पूर्व सन्ध्यामा सबै पत्रकारहरुलाई आचारसंहिताको पूर्ण पालना गरी जिम्मेवार ढंगले प्रस्तुत हुन आह्वान समेत गरे । शाखा सचिव कृष्ण ओलीले संचालन गरेको कार्यक्रममा चार दर्जन बढी पत्रकारहरुको उपस्थिति थियो ।
    त्यसक्रममा त्रिभुवन चोक पुर्व लाइनलाई ‘पन्नालाल मार्ग’ र रानी तलाउ नजिकै अवस्थित गुप्तको निवास अगाडिको चोकलाई ‘पन्नालाल चोक’ नामाकरणका लागि नेपालगन्ज उपमहानगरपालिकामा गरिएको लिखित आग्रहलाई निष्कर्षमा पु¥याउन लागिपर्नु पर्नेमा समेत जोड दिइएको छ । स्थानीय सरकारले यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology