नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बाँकेमा कार्यभार सम्हालेको सय दिन पूरा भएको अवसरमा पत्रकारसँग छलफल गर्दै आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्नुभएको छ । एसपी जिसीको नेतृत्वमा जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र कानून कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको देखिएको छ ।
प्रहरीको तथ्यांकअनुसार यस अवधिमा जम्मा ३२३ मुद्दा दर्ता भई ४७६ जना मानिस पक्राउ परेका छन् । अवैध भन्सार तथा तस्करी नियन्त्रणतर्फ करिब रु. १ करोड ८ लाख ८४ हजार बराबरको अवैध भन्सार छलिको सामानसहित २९ जना पक्राउ, १ जिप, १६ वटा मोटरसाइकल र २ वटा ईरिक्सा नियन्त्रणमा लिइ सम्बन्धित निकायमा बुझाइएको छ ।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै ४७४० वटा सवारी साधनलाई कारबाही गरी करिब रु. ४० लाख ४० हजार राजस्व संकलन गरिएको छ । अवैध पशुपन्छी तस्करीबाट रु. १ लाख ६ हजार ७ सय २५ र अवैध नदीजन्य पदार्थबाट रु. १ लाख ७० हजार बराबरको राजस्व संकलन भएको छ । लागुऔषध नियन्त्रणतर्फ विशेष अभियान सञ्चालन गरी ५७ जना ओसारपसारकर्तालाई कानुनी दायरामा ल्याइएको छ । साथै हेरोइन, ब्राउन सुगर, नाइट्राजेपाम, ट्रामाडोललगायत विभिन्न लागुऔषध बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
त्यसैगरी, १२१ जना फरार अपराधी पक्राउ गरी अदालतबाट कैद तथा जरिवाना असुल उपर गरिएको छ । चोरीतर्फ अधिकांश मुद्दाको फछ्र्यौट गरिएको छ भने हराएका ६ वटा मोटरसाइकल र ४५ थान मोबाइल फोन समेत फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।
एसपी जिसी बाँकेमा आएयता जिल्लाको शान्ति सुरक्षा, अमनचयन र कानून कार्यान्वयनमा उल्लेखनीय सुधार आएको बताइएको छ । उहाँलाई हाल जनताले विश्वास गर्ने प्रहरी प्रमुखका रूपमा लिने गरिएको छ । नागरिकको चाहनाअनुसार शान्ति सुरक्षा कायम गर्न उहाँले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
कार्यभार सम्हाले लगत्तै एसपी जिसीले अवैध यौनधन्दा, जुवातास, चोरी, डकैटी, लुटपाट तथा लागुऔषध दुव्र्यसनी नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुभएको छ । विशेषगरी खुला सीमा नाका नेपाल–भारत क्षेत्र तथा भन्सार आसपास कडाइ गरिनुका साथै आपराधिक गतिविधिमा संलग्नलाई निगरानीमा राख्ने काम तीव्र बनाइएको छ ।
त्यसैगरी, जिल्लामा ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन विशेष पहल गरिएको छ । नेपालगन्ज उपमहानगर क्षेत्रमा चौविसै घण्टा ‘‘क्विक रेस्पोन्स भ्याली’ परिचालन गरी आपत्कालीन अवस्था तथा जनताको सेवामा प्रहरीलाई सदैव तत्पर बनाइएको छ ।
एसपी जिसीले आगामी दिनमा पनि नागरिकमैत्री प्रहरी सेवा, अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बाँके जिल्लामा शान्ति सुरक्षाको अवस्था थप सुदृढ बन्दै गएको भन्दै स्थानीयवासीले समेत प्रहरीको कामप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आएका छन् ।
एसपी जिसीले बाँकेमा आउनासाथ अवैध यौनधन्दा, जुवातास, चोरी–डकैटी, लुटपाट र लागुऔषध दुव्र्यसनी नियन्त्रणलाई प्राथमिकतामा राख्दै खुला सीमा नाका तथा नेपाल–भारत आवतजावतमा कडाइ गर्नुभएको छ । नेपालगन्ज क्षेत्रमा २४ घण्टा ‘द रेस्पोन्स टोली’ परिचालन गरी नागरिकको सेवामा प्रहरीलाई सदैव तत्पर बनाइएको छ ।
स्थानीयवासीले एसपी जिसीलाई जनताले विश्वास गर्ने प्रहरी प्रमुखको रूपमा लिँदै शान्ति सुरक्षा र अमनचयन कायम गर्न उहाँको भूमिका प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् ।

