कोहलपुर । कोहलपुर महोत्सवको नवौँ दिन पनि दर्शकको उल्लेखनीय उपस्थिति देखिएको छ । महोत्सव सुरु भएदेखि नै अवलोकनकर्ताको चाप बढ्दो क्रममा रहेको छ भने नवौँ दिनसम्म आइपुग्दा महोत्सवस्थल अझै उत्साहपूर्ण बनेको छ ।
यही क्रममा बिहीबार युवा पुस्तामाझ लोकप्रिय गायकद्वय अर्जुन सापकोटा र स्बल सन्ज्यालले आफ्नो दमदार प्रस्तुति दिँदै कोहलपुर महोत्सवलाई तताएका छन् । चर्चित गायक अर्जुन सापकोटाको प्रस्तुति चलिरहँदा दर्शकदीर्घामा रहेका धेरै युवतीहरू भावुक बन्दै रोएको दृश्य समेत देखिएको थियो । उनका गीतमा सबै उमेर समूहका दर्शक झुम्दै महोत्सवस्थलमा रमाएका थिए ।
त्यसैगरी, लाइभ दोहोरीमार्फत चर्चामा आएकी गायिका स्बल सन्ज्यालले पनि आफ्नो सुमधुर स्वरले दर्शकको मन जितिन् । उनले प्रस्तुत गरेका देउडा गीतमा दर्शकहरूले नाच्दै उत्साहपूर्वक साथ दिएका थिए ।
महोत्सवमा मोडल आरुसी मगरले प्रस्तुत गरेको दमदार नृत्यले थप आकर्षण बढाएको थियो । कलाकारहरूको उत्कृष्ट प्रस्तुतिका कारण दिनभरि महोत्सवस्थलमा उत्साह र उमङ्गको वातावरण बनेको महोत्सव सचिवालयले जनाएको छ ।
शुक्रवार आउने कलाकारहरू
महोत्सवको दशौँ दिन शुक्रबार चर्चित गायक चक्र बम, लोकप्रिय गायिका रचना रिमाल तथा मोडल करिश्मा शाहीको विशेष प्रस्तुति रहनेछ । साथै, स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने कला, संस्कृति तथा अतिथि सत्कार उप–समिति संयोजक चण्डी प्रसाद गैरेले जानकारी दिएका छन् ।
