(Wednesday 28th of October 2026)
`

नेपालगन्जमा ‘खुल्ला व्यायाम प्रतियोगिता हुँदै, विजेताले १ लाख ८५ हजार रुपैया पाउने

  • सगरमाथा गन्तब्य
  • 6K
    SHARES

    बाँके : नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स, नेपालगन्जको आयोजनामा शनिवारदेखि नेपालगन्जस्थित एन्फा फुटबल मैदानमा ‘खुल्ला व्यायाम प्रतियोगिता २०८२ (चौथो स्ट्रिट गेम्स) भव्य रूपमा हुने भएको छ ।
    नेपालगन्ज उपमहानगरपालिका तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ को संयोजनमा सञ्चालन हुने यस प्रतियोगितामा देशका विभिन्न भागबाट १०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । यो प्रतियोगिता वैज्ञानिक आधारमा तय गरिएका फिटनेसका मूल कम्पोनेन्टहरू—स्ट्रेन्थ, इन्दुरेन्स र स्टामिना—को परीक्षण गर्ने एक विशिष्ट राष्ट्रिय स्तरको फिटनेस प्रतिस्पर्धा भएको आयोजकले दाबी गरेको छ । प्रतियोगितालाई थप रोमाञ्चक बनाउन यसलाई बार इभेन्ट र सर्किट इभेन्ट गरी दुई प्रमुख विधामा विभाजन गरिएको इभेन्ट संयोजक तिलक शाहीले जानकारी दिए । बार इभेन्ट (पुरुष समूह) अन्तर्गत मसल–अप, टो–टु–बार, १० केजीसहित पुल–अप, १० केजीसहित प्यारालेल बार डिप्स तथा १० केजीसहित स्क्वाट समावेश भएको उनले बताए । ’प्रत्येक अभ्यासका लागि १ मिनेट समय दिइनेछ र सम्पन्न गरिएको प्रत्येक रेप्स अनुसार अंक प्रदान गरिनेछ। सर्वाधिक अंक प्राप्त गर्ने खेलाडी विजेता घोषित हुनेछन्,’ उनले भने ।
    त्यसैगरी सर्किट इभेन्ट अन्तर्गत पुरुष र महिला दुवै समूह समावेश गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
    पुरुष समूहमा पुल–अप, १५ केजी डम्बलसहित क्लिन एण्ड प्रेस, २० केजी स्यान्ड ब्यागसहित ब्याकवर्ड लञ्जेज, टायर फ्लिप, ६०० मिटर दौड तथा ओभर द बक्स बर्पिज राखिएको उनले बताए । ’महिला समूहतर्फ नी रेजेज, १० केजी डम्बलसहित क्लिन एण्ड प्रेस, १५ केजी स्यान्ड ब्यागसहित ब्याकवर्ड लञ्जेज, टायर फ्लिप, ४०० मिटर दौड तथा ओभर द बक्स बर्पिज समावेश गरिएको छ,’ उनले भने ।
    अतिरिक्त कार्यक्रमतर्फ खेलाडीहरूसँगै आम दर्शकहरूको सहभागितामा फन रन र ‘टोल–टोलमा फिटनेस’ जस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि राखिएको छ ।


    प्रतियोगितामा पुरुष सर्किट, महिला सर्किट र पुरुष बार विधा समावेश छन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशि रु. १ लाख ८५ हजार रुपैया रहेको आयोजकले जनाएको छ । ’प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कार, मेडल, ट्रफी तथा आकर्षक उपहार प्रदान गरिने छ,’ शाहीले भने ।
    यस प्रतियोगिताले फिटनेसमा रुचि राख्ने युवाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने राष्ट्रिय स्तरको अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरतर्फ प्रेरणा दिने विश्वास आयोजकले लिएको छ । ’यस्ता गतिविधिले युवाहरूलाई लागूपदार्थ, मदिरा दुरुपयोग तथा सामाजिक विकृतिबाट टाढा राखी स्वस्थ, अनुशासित र सशक्त समाज निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ,’ उनले भने ।
    कोभिड–१९ पश्चात् देखिएका मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको न्यूनीकरणमा समेत यस्ता खेलकुद गतिविधि प्रभावकारी हुने विश्वास आयोजकले गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology