आशा परियार : नेपालगन्ज, भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीजको रंगले गाउँ–सहर उत्सवको तरंगमा डुबेका छन् । गाउँघरको आँगन देखि सहरको गल्लीहरुमा गीत र नाचको मिठास छरिँदा पनि जनताको सुरक्षा पहरेदारीमा खटिएका प्रहरी महिलाका लागि त्यो रौनक उल्लासमय बन्न सकेको छैन । राज्यले चाडपर्वमा सरकारी बिदा दिने प्रचलन भए पनि तीजमा यो व्यवस्थाले जनताको सुरक्षामा खटिने प्रहरी महिलालाई समेट्न सकेको छैन ।
तीज जस्ता सांस्कृतिक र धार्मिक चाडपर्वमा प्रहरी महिलाको खटाइ अन्य दिनको तुलनामा बढी हुने जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी निरीक्षक शिवा थापा बताउँछिन । प्रहरी निरीक्षक थापाका अनुसार “तीज महिलाहरुको बिशेष पर्व भएकोले यो दिन महिलाहरुको बाक्लो उपस्थिती हुन्छ जसलाई सुरक्षा दिन अझ बढी प्रहरी महिलाको आवश्यकता पर्छ ।
यसकारण व्यक्तिगत इच्छा, भावना र पारिवारिक रमाइलो केही समयका लागि पछि राखेर ड्युटीमा पूर्ण रूपमा केन्द्रित हुनुपर्छ । हाम्रो पेशा नै यही हो सामान्य नागरिकको सुरक्षा सुनिश्चित गर्नु । चाडपर्व सुरक्षाको हिसावले संवेदनशील हुन्छ त्यही कारण हामी सबै ड्युटीको जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्छौँ ।”
“हो, तीजको दिन रंगीन सारी र शृंगारमा सजिएर रमाउने इच्छा स्वाभाविकै सबै महिलामा हुन्छ, म मा पनि छ । हामी पनि हरेक वर्ष यही चाडको रौनक अनुभव गर्न चाहन्छौँ । तर हाम्रो काम इच्छा भन्दा महत्वपूर्ण हुन्छ । त्यसैले, ड्युटीमा खटिएको बेला व्यक्तिगत इच्छा केही समयका लागि रोक्नु हाम्रो पेशाको हिस्सा हो” प्रहरी निरीक्षक थापा भनिन् ।
प्रहरी निरीक्षक थापाले आफ्नो अनुभूति साझा गर्दै भनिन्, “रंगीचंगी सारीमा सजिएर रमाइरहेका दिदीबहिनीहरूलाई देख्दा खुसी महसुस हुन्छ । उनीहरूको हाँसो, रमाइलो र उत्साहले हामीलाई पनि सान्त्वना र सन्तोष दिन्छ । ड्युटी र जिम्मेवारीको बीचमा यसरी सानो खुशी अनुभव गर्नु, हाम्रो पेशाको अर्को प्रकारको पुरस्कार जस्तै हो । हाम्रो उद्देश्य केवल सुरक्षा प्रदान गर्नु मात्र नभई, चाडपर्वमा नागरिकहरूको अनुभवलाई सहज र सुरक्षित बनाउनु पनि हो ।”
थापाले अन्त्यमा जोड दिइन्, “तीजमा रमाइलो र व्यक्तिगत इच्छालाई केही समयका लागि पछि राख्नुपर्छ भने पनि, आमजनताको खुशी र सुरक्षा सुनिश्चित गर्नु हाम्रो गौरव हो । यही भावना हामीलाई हरेक वर्ष प्रेरित गर्दछ र हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ ।” हुन त तीजमा मात्र नभएर दशैँ तिहार जस्ता ठूला पर्वहरुमा पनि आफूहरुले अरुको सुरक्षार्थ खटिरहँदा एकातिर नरमाइलो र अर्कातिर देश सेवाको पगरी ओडेको एउटा प्रहरीलाई ती कुराले धेरैबेर रोक्न नसक्ने उनको तर्क छ ।
प्रहरी सेवामा कार्यरत नेपालगन्जकी अमृता साउँदले लामो समयदेखि आफ्नो परिवारसँग बसेर तिज मनाउने अवसर पाएकी छैनन् । उनका छोरीहरूले कहिलेकाहीँ तिज नमनाएकोमा असन्तोष व्यक्त गर्छन्, तर अमृताका लागि व्यक्तिगत इच्छा भन्दा ठूलो अर्थ राष्ट्रप्रतिको कर्तव्य जिम्मेवारी रहेको बताउछिन् ।
दिदीबहिनीहरू हरियो–रातो साडीमा सजिएर माइतीघरको आँगनमा गीत–नृत्यमा मस्त भइरहेका बेला इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनाल भने ड्युटीमै तल्लिन हुन्छिन् । चाडपर्वको उमंग हृदयमा भए पनि अनुशासनको मुस्कान मात्र अनुहारमा देखिन्छ ।
“प्रहरी यस्तो पेशा हो, जहाँ आफ्नो भन्दा जनताको हित पहिलो पंक्तिमा राख्नुपर्छ,” खनाल भन्छिन्, “तीजले हामीलाई भावनात्मक रूपमा धेरै छोइरहेको हुन्छ, तर ड्युटीको घेराभित्र त्यो भावनालाई थामेर बस्नुपर्छ ।”
“नेपाल प्रहरीको दैनिकी प्राय, फिल्डमै बित्छ । तीजकै दिन मेरो ड्युटी काठमाडौँको पशुपति मन्दिरमा परेको अनुभव छ,” खनाल सम्झिन्छिन्, “चाहेर पनि इच्छा पूरा गर्न सकिँदैन । आफ्नो मन बुझाएर, भावना पन्छाएर सेवामा तल्लिन रहनुपर्छ ।” उनका अनुसार प्रहरीको पेशा २४ घण्टा चल्ने सेवा हो । चाहे चाडपर्व होस् वा व्यक्तिगत अवसर, सुरक्षाको जिम्मेवारी कहिल्यै रोकिँदैन । “जन्मदिनमा पनि रमाउन नसक्ने अवस्था आउँछ । चाडपर्वमा आफ्नो मनलाई बुझाएर अरूको सुरक्षा हेर्नुपर्छ, तर हामी जनताको सुरक्षाका लागि हो, र त्यही गर्व हाम्रो शक्ति हो,” उनी भन्छिन् ।
खनालका अनुसार, चाडपर्वमा अरू रमाइरहेका बेला प्रहरीको वास्तविकता फरक हुन्छ । जन्मदिनमै पनि रमाउन नसक्ने, तीजको दिन घर जान नपाउँदा चित्त बुझाउनुपर्ने, यी अवस्था पेशासँगै अँगाल्नुपर्ने यथार्थ हुन् । “आमाले बोलाउँदा मन भारी हुन्छ, तर बाहिर अर्कै रूप देखाउनुपर्छ,” उनी भन्छिन् ।
तीज नजिकिँदा महिला प्रहरीका लागि दर खाने कार्यक्रम आयोजना हुन्छ । “तर तीजकै दिन बिदा पाइन्छ भन्ने अपेक्षा राख्नु हुन्न,” खनाल स्पष्ट पार्छिन् । डीएसपी लक्ष्मी खनालको दृष्टिकोणमा त्यो संवेदनशीलता अझ गहिरो हुन्छ ।
“महिला प्रमुख र पुरुष प्रमुखमा धेरै फरक हुन्छ । म दिदीबहिनीको भावना बढी बुझ्न सक्छु,” उनी भन्छिन्, “त्यसैले यो बर्षको तीजमा अफिसियल कार्यक्रमबाहेक हामी आफैं पैसा उठाएर तीजको झल्को हुने गरि रमाइलो दरखाने कार्यक्रम आयोजना गर्ने योजनामा छौं ।” खनालका लागि तीज केवल हरियो–रातो र गीत–नृत्यको चाड मात्र होइन—यो जनताको सुरक्षा सुनिश्चित गर्ने अटूट प्रतिबद्धताको प्रतीक हो । “चाडपर्वमा अरूको सुरक्षा गर्नु नै हाम्रो पहिलो दायित्व हो । त्यो गर्न पाउनु नै प्रहरीको गर्व हो,” उनी दृढ स्वरमा भन्छिन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक (एसपी) राम प्रसाद घर्तीका अनुसार, तीजको दिन बिदा दिइएको भए पनि शान्ति, सुरक्षा र अमन–चयन कायम गर्ने सन्दर्भमा बिदा भन्ने हुँदैन । प्रहरी ऐनमा बिदा भएपनि, यस प्रकारका संवेदनशील समयमा ड्यूटी सरह रहने व्यवस्था गरिएको छ ।
महिला अधिकारकर्मी कमला पन्तका अनुसार, “यो अवस्थालाई दुई तरिकाले बुझ्न सकिन्छ ।” पहिलो, महिलासम्बन्धी अपराध, खोजतलासी वा पक्राउजस्ता संवेदनशील कार्यमा प्रहरी महिलाकै आवश्यकता हुन्छ, यो प्रहरीको आन्तरिक नियममै स्पष्ट उल्लेख छ । दोस्रो, तीज महिलामैत्री पर्व भएकाले महिलाको सुरक्षाका लागि यस दिन महिला प्रहरीको खटाइ अझ महत्वपूर्ण हुन्छ । “यो पक्षबाट हेर्दा राज्यले अन्य महिलाहरू प्रति गरेको संवेदनशीलता र महिला मैत्री वातावरण सिर्जना गरेको कार्य एकदम उत्तम देखिन्छ । जुन प्रशंसनीय हो,” पन्तको भनाइ छ ।
यसमा समावेशिताको मर्म पनि बुझिनु आवश्यक छ पन्त भन्छिन । प्रहरीमा समावेशिता भन्नाले महिला–पुरुष मात्र नभई जात, धर्म, वर्ग, लिङ्ग र क्षेत्रगत विविधताको प्रतिनिधित्व हुन आवश्यकता रहेको उनी बताउछिन । “यदि तीज नमनाउने क्रिश्चियन, इस्लाम वा बौद्ध धर्मको प्रहरी महिलाको प्रतिनिधित्व पर्याप्त हुन्थ्यो भने, हिन्दू प्रहरी महिलालाई आफ्नै पर्वमा ड्युटीमा खटिनुपर्ने बाध्यता घट्थ्यो,” उनी भन्छिन् ।
त्यो व्यवस्था गर्नुपर्छ भनेर हामीले पहिलेबाट नै उठान गरिएको कुरा पनि हो पन्तले भनिन । यो समावेशिताको सिद्धान्तलाई मर्म नबुझेर जब कार्य गर्दा यस्तो समस्या देखिन्छ । प्रहरी वा सेना जस्तो पेशामा “मेरो बिदा” भनेर बस्न पाइने अवस्था छैन । राज्यको लागि खटिनु राम्रो कुरा हो यसलाइ हामीले सम्मान पनि गर्नुपर्छ । तर विशेष महिलाकै पर्व तीजमा हिन्दू महिला रमाउन नपाउनु भने दुःखद पक्ष हो, अधिकारकर्मी पन्त भन्छिन् । राज्यको पक्षबाट हेर्दा अन्य नागरिकहरूलाई हक अधिकार दिने र नागरिकलाई लैंगिक मैत्री व्यवहारहरू सिर्जना गर्न यो कार्य पनि गज्जब राम्रो हो, तर महिला अधिकारको पक्षबाट हेर्दा तीज पर्वमा आस्था राख्ने हन्दू महिलाहरूको लागि अलिकति दुखद कुरा पनि हो ।
उनका अनुसार, यस्तो अवस्था समाधान गर्न राज्यले लचिलो नीति अवलम्बन गर्नुपर्छ । धार्मिक पर्वमा त्यही धर्मका सदस्यलाई रमाउने अवसर दिन र अन्य धर्मका सदस्यलाई ड्युटीमा खटाउने व्यवस्था मिलाउन आवश्यक छ । यसरी मात्र सबैको धार्मिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न सकिने पन्तको धारणा छ ।
“समावेशिताले एउटा थप राम्रो कुरा दिन्छ, एकले अर्काको धर्मको सम्मान गर्ने संस्कृति । जब क्रिश्चियन प्रहरी महिला तीजमा ड्युटीमा खटिन्छिन्, उनी केवल पेशागत काम मात्र गर्दैनिन्, हिन्दू साथीको पर्वलाई सम्मान पनि गर्छिन् । त्यस्तै, हिन्दू प्रहरी महिलाले पनि अरूको पर्वमा खटिँदा त्यही भावना देखाउँछिन् । यो आपसी सम्मानकै कारण बहुसांस्कृतिक समाज बलियो हुने उनको भनाई छ ।
साभारः नेपाल प्रेस युनियन बाँके बुलेटिन
