बाँके, — वातावरण संरक्षण तथा जैविक विविधताको प्रवद्र्धन गर्ने उद्देश्यसहित डिभिजन वन कार्यालय बाँकेले यस वर्ष पनि जिल्लाभरका नागरिकलाई लक्षित गर्दै निशुल्क बिरुवा वितरण कार्यलाई तीव्रता दिएको छ । ‘हरित बाँके, स्वच्छ बाँके’ अभियानलाई प्राथमिकतामा राख्दै कार्यालयले यो वर्ष ५ लाख ३७ हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएको छ । डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत पंकज कुमार ठाकुरका अनुसार, स्थानीय कृषकलाई लक्षित गरेर बकाइनो, साल, खयर, सिसौ, जामुन, सितलचिनी, अम्बा, कागती, निम लगायतका १२ भन्दा बढी प्रजातिका बिरुवा वितरण गरिएको छ । “खेतीयोग्य जमिनको उर्वराशक्ति घट्दै गएको, जलबायु परिवर्तनको असर देखिन थालेको र वन क्षेत्रको संरक्षण आवश्यक भएकाले समुदायमा बोट बिरुवा रोप्ने चेतना बढेको छ,” ठाकुले बताउनुभयो । जिल्लाका आठवटै स्थानीय तहमा घरदैलोमै पुगेर बिरुवा वितरण गरिँदै आएको छ । जंगलको छेउछाउमा बसोबास गर्ने बासिन्दाले जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न कागती, जामुन जस्ता आयमूलक बिरुवाहरु लगाउन थालेका छन् । वैकल्पिक खेतीका रूपमा समेत यसले कृषकलाई आम्दानी दिने सम्भावना बढेको छ ।
बाँके जिल्लालाई जलवायु मैत्री तथा हरित जिल्ला बनाउने दीर्घकालीन लक्ष्य अनुरूप डिभिजन वन कार्यालय तथा सब–डिभिजन वन कार्यालयका नर्सरीमा उत्पादन भएका बिरुवा समुदायलाई वितरण गरिएको हो । “बृक्षा रोपण मात्रै होइन, रोपिएका बिरुवाको संरक्षण र संरक्षणप्रतिको चेतनाको विकास अब अनिवार्य बनिसकेको छ,” वन अधिकृत ठाकुर बताउँउनुहुन्छ ।
बृक्षारोपण अभियानले बाँके जिल्लामा वातावरणीय सुधारमा योगदान दिनेछ, कृषकको जीवनस्तर सुधार, जैविक विविधता संरक्षण तथा जलबायु परिवर्तनको असर न्यूनीकरणमा समेत सघाउ पु¥याउने विश्वास गरिएको छ ।
