आशा परियार, बाँके – नेपाल प्रहरीबाट अवकाश पाएपछि कृष्णमोहन थारु फेरि खेतबारी गर्न फर्किए । बैजनाथ गाउँपालिका–८ मा रहेको आफ्नो के.एम. कृषि फर्ममार्फत उनले सात वर्षदेखि व्यावसायिक कृषि गरिरहेका छन् । चार कठ्ठा तरकारी र पाँच बिघा धान–गहुँ खेत जोत्न उनले निजी खर्चमै मिनी टिलर किने । जमिन जोत्न सकस थियो, पसिना थियो, तर अभाव पनि उस्तै ।
“त्यही टिलरबाट काम चलाइरहेको थिएँ,“ उनी भन्छन्, “अब पालिकाले पावर टिलर दियो, खेतीले अब रफ्तार लिन्छ ।” झन धेरै र सहज हुन्छ काम गर्न उनले भने ।
कृषिमा प्रविधिको पहुँच विरलै पुग्ने बाँकेको ग्रामीण भेगमा अहिले कृषकको घरसम्म नयाँ टिलर पुगेको छ । बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्षको प्रमुख कार्यक्रमअन्तर्गत आफ्ना कृषकलाई ७० प्रतिशत अनुदानमा पावर टिलर र मिनी टिलर वितरण गर्न थालेको हो ।
यसबाट लाभ लिनेमा बैजनाथ–२ का भरत न्यौपाने पनि छन् । एकीकृत कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गर्दै आएका उनी विगतमा अरूको ट्याक्टर कुरेर खेती गर्नुको पीडा सुनाउँछन् ।

“कतिपय अवस्थामा ट्याक्टर पाउन दिनभर बस्नुपथ्र्यो । खेतको अवस्था बिग्रिन्थ्यो, रोपाइँको समय चुक्थ्यो,” उनले भने, “अब आफ्नै टिलर छ, समयमै खेत जोत्न सकिन्छ । समय, पैसा र श्रम—सबैको बचत हुन्छ ।”
पेडारी गाउँ वडा नं. ७ का गणेश थारुले झन् फरक पीडा सुनाए । वर्षौं हलो जोतेर एक बिघामा खेती गर्दै आएका उनले भने, “हलोले एक बिघा जोत्नै धौधौ थियो । अब पावर टिलर आएको छ, दुई बिघा जोत्न सकिने भयो, त्यसमा पनि आधा समयमै ।” खुसी हुदै उनले भने अरुको ट्याक्टर बोलाउदा दिनभरी कुर्नुपर्ने हुदा खेतमा भएको पानी समेत सुकेर जान्थ्यो अहिले आफ्नै पावर टिलर हुदा समयमै जति बेला पनि खेत जोत्न सकिने बताए ।
यी तीन कृषक मात्र होइनन्, गाउँपालिकाको यो योजना बैजनाथका थुप्रै किसानको खेतसम्म प्रविधि पु¥याउने कोसिस हो । पालिकाले वितरण गरेका यान्त्रिक उपकरणहरूमा पावर टिलर, मिनी टिलर, च्याप कटर र दुग्ध व्यवसायका लागि ई–लोडिङ अटो समावेश छन् ।
गाउँले देख्दैछ प्रविधिको पाइला
सहरमा सामान्य ठानिने यस्ता उपकरणहरू गाउँमा जब पुग्छन्, तिनको प्रभाव जीवनशैलीमै देखिन्छ । हलो जोतेर उब्जनी घटाउँदै आएका किसान अहिले टिलर जोतेर समयमै खेत तयार पार्न थालेका छन् । पालिकाले आफ्नो लगानीमा कृषकहरूलाई उकास्ने काम थालेको छ । यो योजनाले यान्त्रिकीकरणमार्फत उत्पादन लागत घटाउने र ग्रामीण श्रमिकको श्रमको सम्मान गर्ने संकेत गरेको छ ।
बाँकेजस्तो तराई जिल्ला, जहाँ कृषिको सम्भावना छ तर साधनको अभाव, त्यहाँ यस्ता उपकरणले न केवल खेत जोत्न सजिलो बनाउँछ, कृषकको मन पनि हलुका बनाउँछ । “हामीजस्ता किसानका लागि यो उपहारभन्दा कम छैन,“ कृष्णमोहन भन्छन्, “पहिले खेत हेरेर सोचिन्थ्यो—जोत्न सकिएला कि सकिएन । अब सोच्नै पर्दैन, जोत्न सक्छु भन्ने विश्वास छ ।”

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार गाउँपालिकाभित्रका करिब ७५ देखि ७७ प्रतिशत बासिन्दा कृषि तथा पशुपालन व्यवसायमा प्रत्यक्ष संलग्न छन् । कृषकहरूको यथार्थ आवश्यकता र प्रत्यक्ष माग बुझ्दै पालिकाले विगत तीन वर्षदेखि कृषि यान्त्रिकीकरण कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।
“हामीले कार्यालयको टेबलमै बसेर कार्यक्रम बनाएका होइनौं,” अध्यक्ष शाही भन्छन्, “कृषकहरूसँगको प्रत्यक्ष संवाद, उनीहरूको अनुभव र आवश्यकतालाई आधार बनाएर योजना अघि बढाएका हौँ । कृषि औजार वितरण उनीहरुकै माग र सल्लाह अनुसार गरिएको हो ।”
पालिकाले १ सय २ वटा मिनी टिलर र २१ वटा पावर टिलर वितरण गरेको छ । सबै उपकरण ७० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो ।
“यो हामीले निर्वाचनका बेला गरेका प्रतिबद्धताहरूमध्ये एक हो,” शाही थप्छन्, “हामी प्रतिवद्धता पूरा गर्न योजनाबद्ध ढंगले अघि बढिरहेका छौं ।”
बैजनाथ गाउँपालिका कृषि शाखाका प्रमुख प्रमोद कुमार विश्वकर्माका अनुसार स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन पालिकाले २०७९ सालदेखि ‘पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत यान्त्रिक तथा सहायक कृषि सामग्री वितरण गर्दै आएको छ ।
“हामीले कृषि यान्त्रीकरण मात्र होइन, सिँचाइदेखि ढुवानीसम्मका सम्पूर्ण पक्षलाई समेट्ने प्रयास गरेका छौँ,” प्रमुख विश्वकर्मा भन्छन्, “खेती गर्न सजिलो होस्, उत्पादन सुरक्षित होस् र बजारसम्म पु¥याउन सहज होस् भन्ने सोचले उपकरण उपलब्ध गराउँदै आएका हौँ ।”
उनका अनुसार ७० प्रतिशत अनुदानमा पावर टिलर, मिनी टिलर, ढुवानीका लागि ई–लोडर अटो र च्याउ उत्पादनका लागि बीउहरू कृषकलाई दिइएको छ । त्यसैगरी ५० प्रतिशत अनुदानमा तरकारीको बीउ र खाद्य सुरक्षाको सन्दर्भमा खाद्य भण्डारणका लागि गोदाम निर्माणका योजना पनि अघि बढाइएको छ ।
ई–लोडर अटो वितरणबारे उनले थपे, “विगतमा ११ वटा अटो वितरण गरेका थियौँ, यो वर्ष पनि ११ वटा किसानलाई दिइएको छ । यसले उत्पादन बजारमा लैजान सजिलो भएको छ ।” त्यस्तै, पालिकाले कृषकका पशु तथा कृषि सामग्री आकस्मिक अवस्थामै स्थानान्तरण गर्न ‘कृषि एम्बुलेन्स’ सेवा पनि सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

