बाँके । भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगञ्जमा रात्रीकालिन क्रिकेट प्रतियोगिता चैत २४ गतेदेखि सञ्चालन हुने भएको छ । प्रत्येक वर्ष क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको भेरी रकर्स स्पोर्टस क्लवले हरेक बर्ष पुरस्कार राशी बृद्धि गर्दै आएको छ । यस वर्ष तेस्रो संस्करण अनुरुप ‘राजा खान नेपालगञ्ज टी २० क्रिकेट’ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । आइतबार बेलुका ८ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित विशालचोक मैदानमा प्रतियोगिता भब्यरुपमा सञ्चालन गर्ने तयारी पुरा भएको आयोजकले शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रतियोगितालाई टाइटल स्पोन्सरको रुपमा समाजसेवी राजा खानले गर्नुभएको क्लबका सचिव साहिल अन्सारीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । सचिव अन्सारीका अनुसार यस प्रतियोगितालाई सफल बनाउन नेपालगञ्ज उपमहानगरपालिका, एजुकेशनल पार्टनरमा एक्सपर्ट एजुकेसन, सगरमाथा ई.बोर्डिङ सेकेन्डरी स्कुल, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, ८ र १८ को कार्यालय, स्र्पोट्स ग्यालेक्सी लगायतले सहयोग गरेको आयोजकले जनाएको छ ।

कुल १४ लाख लागतमा सम्पन्न हुने उक्त प्रतियोगितामा ४० वटा टिमले सहभागिता जनाएको अध्यक्ष मोहम्मद साजिद खानले जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म १० लाखको व्यवस्था भईसकेको र बाँकी ४ लाखको लागि विभिन्न स्थानीय तह लगायतका संघसंस्थाहरुसंग आवश्यक समन्वय भैरहेको छ । पहिलो संस्करणमा ५० हजार, दोस्रोमा एक लाख हुँदै तेस्रो संस्करणसम्म पुग्दा प्रथमलाई एक लाख २५ हजार रुपैँया नगद पुरस्कार राशी राखेको सचिव अन्सारीले जानकारी गराउनुभयो । यस्तै उपविजेतालाई ६० हजार नगद पुरस्कार राशी उपलब्ध गराइनेछ ।
