नेपालगञ्ज, मेदान्ता अस्पताल, लखनऊ र नेपाल मेडिकल एशोसिएशन (एनएमए) भेरी शाखाको संयुक्त पहलमा शुक्रबार ‘इन्डो–नेपाल मित्रता सीएमइयु (कन्टिन्युइङ मेडिकल एजुकेशन) सत्र सम्पन्न भयो । यो सत्रले नेपाल र भारतबीच चिकित्सा ज्ञान र अनुभवको आदानप्रदान गर्दै, विशेष गरी क्यान्सर व्यवस्थापनमा सीमा–पार सहयोगलाई प्रोत्साहन गरेको छ ।
सत्रमा भारत र नेपालका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । विभिन्न मेडिकल विषयमा केन्द्रित अन्तरक्रियात्मक सत्रहरूमा क्यान्सर निदान र उपचारका नवीनतम विधिहरूमा छलफल गरियो ।
मेदान्ता अस्पताल, लखनऊका हेमाटो–आन्कोलोजीका निर्देशक डा. अंशुल गुप्ताले “कमप्लिट ब्लड काउन्ट (सिबिसी) रिपोर्टहरूको व्याख्या र यसको महत्व” विषयमा जानकारी दिँदै भने, “सिबिसी रिपोर्टको सही व्याख्याले धेरै रोगहरूको प्रारम्भिक निदान गर्न महत्वपूर्ण भूमिका खेल्छ । चिकित्सकहरूले यसमा निपूर्णता हासिल गर्न जरुरी छ, जसले बिरामीको जीवन बचाउन सक्नेछ ।”

यसपछि मेदान्ताका रेडिएसन अनकोलोजीका निर्देशक डा. नीरज रस्तोगीले क्यान्सर उपचारमा रेडिएसन थेरापीको भूमिकामा ध्यान दिँदै भने, “विभिन्न प्रकारका क्यान्सरहरूको सफल व्यवस्थापनका लागि रेडिएसन थेरापी महत्वपूर्ण छ । मेदान्ता, लखनऊमा हामीसँग नयाँ प्रविधिहरू छन्, जसले कठिन स्थानमा रहेका ट्युमरहरूको पनि प्रभावकारी उपचार गर्न सक्छ ।” उनले विशेष गरेर पूर्वी भारतको पहिलो वरियन एज मेशिनबारे पनि चर्चा गरे, जसले ट्युमरको सटीक उपचारमा सहयोग पु¥याउँछ ।
नेपाल मेडिकल एशोसिएशनका डा. रुपेश रोशनले स्तन क्यान्सरको उपचारमा स्तन–संरक्षण शल्यक्रियाको महत्वमा जोड दिँदै भने, “स्तन क्यान्सरका बिरामीहरूका लागि मोडिफाइड ¥याडिकल मास्टेक्टोमी र स्तन–संरक्षण शल्यक्रिया दुबै प्रभावकारी विकल्प हुन्। तर, स्तन–संरक्षण शल्यक्रियाले बिरामीको मनोवैज्ञानिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।”

सत्रको अन्त्यमा एनएमए भेरी शाखाका अध्यक्ष डा. विनोद कुमार थापाले यस्ता अन्तर्राष्ट्रिय सहकार्यले चिकित्सा क्षेत्रमा दुबै देशका चिकित्सकहरूबीच ज्ञानको आदानप्रदानलाई प्रोत्साहन गर्ने र बिरामीलाई उत्कृष्ट सेवा प्रदान गर्न महत्वपूर्ण योगदान दिने बताए ।
यो सिएमईले नेपाल–भारतको चिकित्सा सहकार्यलाई थप बलियो बनाउँदै, दुवै देशका चिकित्सकहरूको दक्षता अभिवृद्धिमा टेवा पु¥याएको छ । भविष्यमा यस्ता सत्रहरूले सीमापार चिकित्सा सम्बन्धलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

