(Saturday 25th of July 2026)
`

थारु समुदायले मनाए श्रीकृष्ण जन्मअष्टमी

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : थारु समुदायको महान पर्व श्रीकृष्ण जन्मअष्टमी अर्थात अष्टिमकी पनि एक विशेष पर्व हो । थारु समुदायको बहुल्यता जिल्लामा यस पर्वलाई धुमधामका साथ मनाईने गरिन्छ । आज मंगलवार श्रीकृष्ण जन्मअष्टमीको बर्तालुहरु पुजापाठ गरि अष्टमीलाई सेलाएर (बगाएर) अष्टमी पर्व मनाएका छन् । थारु महिलाहरुको विशेष अर्थात महत्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमीलाई लिइन्छ । भाद्र महिनाको कृष्ण पक्षमा पर्ने अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्म भएको दिनलाई थारु समुदायमा अष्टिम्की अर्थात श्री कृष्ण जन्माष्टमी दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र सुर्खेत जिल्लामा धुमधामका साथ यस पर्वलाई मनाईने गरिन्छ भने पुर्वका थारु समुदायहरुले यसपर्वलाई समान्य रुपमा मात्र मनाउने गरेको थारु अगुवाहरु बताउछन् ।
    थारु महिलाहरुले यस पर्वलाई विशेष महत्वका साथ मनााउँने गर्दछन । थारु महिलाहरुले यस पर्वलाई २ दिनसम्म उत्साहका साथ मनाउने गर्दछन भने पछिल्लो समय थारु पुरुषहरु पनि बर्त बस्ने यसपर्व मनाउदै आएका छन् । थारु जातिको उत्पत्ति कहाँ, कसरी भयो, थारुहरुको सभ्यताको सिर्जना कसरी भयो भन्ने कुराको स्पष्ट पनि अष्टमीमा गाइने गीतबाट प्रस्त हुने एक बर्तालु महिला बताउनुहुन्छ । थारु समुदायमा अष्टमी आउनु भन्दा केही दिन पहिलेदेखि अष्टमीको बारेमा चहलपहल सुरु हुन थाल्छ उहाँले भन्नुभयो ।
    के लगाउने, के खाने, कस्तो लगाउने, अष्टमीको जात्रा हेर्न कहाँ जाने लगायतका विषयमा छलफल हुने गर्दछ । थारु समुदायका महिलाहरुले मनाउने विषेश पर्व श्रीकृष्ण जन्मअष्टमी हर्षाैउल्लासका साथ मनाउने गरिन्छ । अष्टमीकोे अघिल्लो रात थारु समुदायका महिलाहरुले मध्येरातमा घरका सदस्यहरुसँग सामुहीक रुपमा दर (भिन्सरिया) खाने गर्दछन् । अष्टमीको दरमा विशेष गरी घोंघी, माछा, गंगटा, सिध्रा, मासु, रोटी लगायत परिकारहरु बनाएर खाने गरेको स्थानिय लक्ष्मी चौधरीले बताउनुहुन्छ । बाँकेको नेपालगन्जमा यसबर्ष विभिन्न जिल्लाका थारु समुदायका महिला पुरुषले सामुहिक दर खाएर अष्टमी सुरु गरेका थिए ।
    अष्टमीको अघिल्लो दिन हामीले सामुहिक दर खाने गरेका छौं , दर खाएर सोही दिन सांस्कृतिक नाचगान गर्दछौं उहाँले भन्नुभयो । महिलाहरु सामुहिक दर खानुको मजा बेग्लै हुन्छ उहाँले भन्नुभयो । हामीहरु हरेक बर्ष अष्टमीको बर्त बस्छौं । दर खाएको रातदेखि हाम्रो बर्त सुरु हुन्छ त्यसपछि २ दिन अर्थात तेश्रो दिनको विहान मात्र अन्न खाने गर्दछौं लक्ष्मीले भन्नुभयो । महिला पुरुष अष्टमीको दिन दिनभर निरहार व्रत बसी बेलुकी पख सामुहिक रुपमा गाउँको महटवाको घरमा गई पालैपालो श्रीकृष्णको पूजा आरधना गर्ने गर्दछन भने बजार क्षेत्रमा कुनै एकजनाको घरमा सामुहिक रुपमा बर्त बसेर मनाउने गरेको नेपालगन्जका सुमित्रा चौधरीले बताउनुहुन्छ । श्री कृष्णजन्मअष्टमी थारु महिलाहरुको सवैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो ।


    पहिलेको तुलनामा अहिले श्री कृष्ण जन्मअष्टमी मनाउने तरिका समयसँगसंगै विस्तारै फेरिदै गएको पनि पाइन्छ । बर्त बसेको दिनभरी घरको भित्ता वा भकारी (डेहरी) मा विभिन्न प्रकारका चित्र बनाउने कार्य हुन्छ । दिनभरी लगाएर बनाएको चित्र जस्तै कन्हा, पाच पाण्डप, कृष्ण, रावण, चराचुरुङगी, लगायतका विभिन्न प्रकारका चित्र बनाएर साँझा पख सामुहिक सोही चित्रहरुमा पुजा गर्ने चलन रहेको चौधरी बताउनुहुन्छ । साँझापख सामुहिक पुजापाठ गरेर रातभरी जग्राम बस्ने गरेका छौं सुमित्राले भन्नुभयो ।
    जग्राम बसेका सवै महिलाहरु पहिलेदेखि चलि आएको गित गाउने चलन रहेको उहाँले बताउनुभयो । पुजापाठ गर्न थारु महिलाहरुको मौेलिक झल्कने भेषभूषा सेतो गुनियो, चोली, ब्लाउज, लेहगामा सजिएर आएका हुन्छन । पहिले थारु समुदायको घर नै छुट्टै पहिचान बोकेको थियो तर अहिले समय परिवर्तनका कारण घरको बनावटमा पनि परिवर्तन भइसकेकाले स्थान अनुसार कतै डिहरीमा त कतै भित्तामा जन्माष्टमीको तस्वीर बनाइने गरिन्छ । यसरी गीत गाउँदै पूजा गर्ने र पूजा गरी सकेपछि पुनः सबै दिदीबहिनीहरु आ आफ्नो घरमा गई थारुहरुको परम्परा अनुसार विशेष गरी कृष्णलाई मन पर्ने परिकार दही, केरा, काक्रा, अम्बा लगाएतका फलफूलले कृष्णलाई पुजा गर्ने र आफु पनि खाने गर्दछन । आफु खानुअघि केही भाग अलिअलि आफ्नो दाजुभाई, छोरीको लागि छुट्याएर राखिने चलन रहेको थारु कल्याणकारिणीसभा बाँकेका सभापति संगिता थारुले बताउनुहुन्छ । छुट्याएर राखिएको परिकार भोलीपल्ट आफ्नो दाईभाई, छोरीको लागि पठाउने गर्दछौं संगिताले भन्नुभयो ।
    यस्तै अर्को दिन विहानपख बर्तालुहरु श्रीकृष्णको पुजा गरि सामूहिक रुपमा सबैजना मिलेर नजिकैको खोला, नदी, तालमा फुलपाती सेलाउन (बगाउन) जाने गर्दछन । दियो बालेर टेपरीमा पुराना सामान खोला नदिमा बगाएर घर फर्किने गर्दछन् । घर फर्केर पुन खानपिनमा सरिक हुन्छन र अघिल्लो दिन जस्तै एक भाग खाने एक भाग आफ्नो दाईभाई र बहिनीको लागि छुटाएर राख्ने गर्दछन् । विजोडा तरकारी ३, ५ तथा ७ वटा विभिन्न किसिमका गेडागुडी, सागपात, पकाएर दाईभाईको लागि कोसेली पठाउने चलन रहिआएको थारु अगुवाहरु बताउँछन् । अरु पर्वमा माछामासुलाई प्राथमिकता र महत्व दिइन्छ तर यसदिन भने सागपात गेडागुडीलाई विशेष महत्व दिइन्छ । यसरी कृष्णको पूजा गरी अग्रासन छुट्याइ सकेपछि अविवाहित युवतीहरुले घरको दाजुभाईलाई खान दिने र विवाहित महिलाहरुले माइतीमा रहेका दाजुभाईलाई दिन जाने गर्दछन् । यसरी नै थारु समुदायमा श्री कृष्ण जन्मअष्टमी मनाउने गर्दछन् । यसको महत्व थारु समुदायमा विशेष मान्ने चलन छ । विशेष गरि यसपर्वलाई किशोरीहरू राम्रो श्रीमान पाउँ भन्नका लागि र महिलाहरू श्रीमानको सुस्वास्थ्य तथा दीर्घायूको कामनाका लागि दिनभर ब्रत बस्ने गर्दछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology