आशा परियार नेपालगन्ज : थारू भाषा संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यका साथ बाँकेको बैजनाथमा प्रथम राष्ट्रिय गुरगेह्वा गोत्यार सम्मेलन गरिएको छ । देशको बिभिन्न जिल्लामा बसोवास गर्दै आएका गुरगेह्वा गोत्यार (थर) भएका थारु समुदायहरुले शनिवार बाँकेको बैजनाथ गाउँपालिका वडा नं.८ स्थित टिटिरियामा गुरगेह्वा गोत्यार सम्मेलन सम्पन्न गरिएको हो ।
बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर बसोवास गर्दै आएका गुरगेह्वा गोत्यार (थर) भएका थारु समुदायका गुरगेह्वा थारु गोत्यार समाजले सक्रिय बनाएर सम्मेलन मार्फत जमघट गर्दै आएको आयोजकले जनाएको छ । युवा पुस्ताले आफ्नो भाषा, भेषभुषा, संस्कृति, कलालाई बिर्सिदै गएकोले युवा पुस्तालाई थारु संस्कृति, भाषा, भेषभुषा, संस्कृति संरक्षण गर्न यस्ता सम्मेलन आवश्यक रहेको बैजनाथ ८ टिटिरियाका बरघर चन्द्र बहादुर चौधरी (गुरगेह्वा) ले बताउनुभयो ।
समुदायमा आर्थिक स्थिती कमजोर रहेको परिवारलाई आफुहरुले सक्दो सहयोग गरेर भएपनि अगाडी बढाउन उहाँले आग्रह गर्नुभयो । थारु संस्कृति, भाषा, भेषभुषा, संस्कृति, हस्तकला नै थारु समुदायको प्रमुख पहिचान भएकोले सबै थरका थारुहरु एकबद्ध भएर आफ्नो पहिचानलाई जोगाई राख्न आवश्यक रहेको बताउदै यिनीहरुको संरक्षण गर्न असफल भएमा थारु समुदायको अस्तित्वनै हराउने उहाँले जानकारी गराउँनुभयो ।
थारु समुदायको संस्कृति कहाँ गईरहेको छ, थारुको पहिचान के, यसलाई संरक्षण किन, यस्ता थुप्रै प्रश्नको निष्कर्ष निकाल्न सबै थारु समुदाय एकबद्ध भएर लाग्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मेलनमा गोत्यार विच भएको भेदभाव आपसी मेलमिलाप तथा आफुहरुले गर्ने कामको सिलसिलामा छलफल गरिएको थियो । गोत्यार सम्मेलनमा गरिएको प्रगिती, समाजसेवी, बडघर, शिक्षक, कर्मचारीलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरिएको थियो । प्रथम राष्ट्रिय गुरगेह्वा गोत्यार सम्मेलन कार्यक्रमको अध्यक्षता गोपीलाल चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता मिश्रीलाल थारुले गर्नुभएको थियो ।
