आशा परियार नेपालगन्ज, ०९ माघ – नेपालगन्ज उपमहानगरपालिका भित्र यस्तो गाउँ छ जहाँ बाटोको समस्याले स्थानियवासी आफै समस्यामा परेका छन् । नेपालगन्ज वडा नं. २२ किङगरियनपुर्वा बस्तीमा अहिलेसम्म बाटो छैन । उनिहरु बाटोको समस्याले दैनिक गुनासो पोख्ने गर्दछन् । साँझा विहान स्थानियवासीहरु आफै आफै कुरा चलाउने गर्दछन् । उपमहानगरपालिका भित्रै रहेको बस्तीमा यस्तो समस्या हुदा उनिहरु पुस्तौदेखि पिडा झेल्दै आएका छन् ।
स्थानिय सरकार आएपछि केही परिवर्तन हुन्छ भन्ने आश पलाएको थियो त्यो पनि भएन । गाउँसम्म बाटो छ गाउँपुगेपछि बाटो समाप्त हुन्छ स्थानियले बताउँछन् । गुजुमुज्ज परेको बस्तीमा वडाको ४० प्रतिशत बसोबास सोही गाउँमा छ । बस्तीमा प्रवेश गरेपछि हिड्ने बाटो बाहेक चौडा बाटो छैन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ को किङगरियनपुर्वामा बाटोको समस्याले स्थानियवासीलाई सास्ती परेको छ । उपमहानगरपालिका भित्रै रहेको किङगरियनपुर्वा बस्ती भित्र चौडा बाटो नभएको कारण उनिहरु सास्ती खेप्न बाध्य भएका हुन् । गाउँघरसम्म ठुलो गाडी आउन सक्दैन स्थानिय आसाराम चमारले बताउनुहुन्छ । बस्तीभित्र साधुरोे हिड्ने बाहेक अन्य चौडा बाटो छैन, जनताको बसोबास घना छ तर बाटोको समस्याले गाउँसम्म ठुलो साधन आउन सक्दैन चमारले बताउनुभयो । गाउँघरमा विवाह भयो भने गाउँबाट टाढै बस, ट्याक्टर राख्नुपर्छ घरसम्म पुग्दैन उहाँले भन्नुभयो ।
बस्तीमा हजारौं जनसंख्या बसोबास गर्छन् । घरमा गरुगो सामान या घर बनाउन परेपनि इट्टा, माटो, सरिया, सिमेन्ट ल्याउन ट्याक्टर समेत घरसम्म पुग्न सक्दैन । कूनैपनि सामान ओसारपसार गर्न गाउँको अलि परबाटै बोक्नुपर्छ घरसम्म साधन जान सक्दैन दुख धेरै झेलीरहेका छौं उहाँले भन्नुभयो । बाटोमात्र चौडा भएर हुन्न नाला पनि सोही अनुसार बनाउनपर्छ चमारले भन्नुभयो । बस्तीमा कोही विरामी पर्दा घरसम्म एम्बुलेन्स आउन सक्दैन गाउँको बाहिरसम्म बोकेर ल्याउनुपर्छ अनिमात्र एम्बुलेन्समा विरामी राखेर अस्पताल लैजाने काम भैरहेको अर्का स्थानिय सायद किङगरियाले भन्नुभयो । हरेक गाउँबस्तीमा बाटो नालाको सुविधा छ तर हाम्रो गाउँमा न बाटो छ न नाला बस्तीभरी फोहर छ सरसफाई गर्ने कुरा कसैले गर्दैनन् उहाँले भन्नुभयो । बर्खायाममा बस्तीभरी पानी हुन्छ हिड्न सकिदैन उहाँले भन्नुभयो । उपमहानगरपालिका भित्र बस्ती पुग्नुभन्दा सय मिटर टाढै एम्बुलेन्स, दमकल, ट्याक्टर, बस रोकेर आउनुपर्छ स्थानिय सायद किङगरियाले भन्नुभयो ।
किङगरियनपुर्वामा स्थानिय सरकार आएपछि हाम्रो गाउँको मुहार फेरिन्छ भन्ने लागेको थियो तर सोचे जस्तो कुनै कार्य हुन सकेन स्थानिय नसिब किङगरियाले भन्नुभयो । हरेक पार्टीका नेताहरुलाई जिताएर हे¥यो तर गाउँमा विकासको नाममा जिरो छ नसिबले भन्नुभयो । विकास प्रेमी भन्ने व्यक्तिलाई समेत भोट दिएर माथि पठायो तर किङगरियनपुर्वा बस्तीमा उनिहरुको आँखा गएन नसिबले भन्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २२ मा घना बस्ती छ । मानिसको बसोबास पनि बाक्लो छ । वडा भित्रको ४० प्रतिशत जनता किङगरियनपुर्वामा बसोबास गर्छन । किङगरियनपुर्वमा एक हजार घरधुरी छन् भने वडामा ६÷७ हजार जनसंख्या रहेको वडा अध्यक्ष अब्दुल गफ्फार हल्वाईले भन्नुभयो । वडा भित्र बाटो चौडा गर्ने योजना बारम्बार ल्याउदा स्थानियवासीको असहमतिले बाटो निर्माण हुन नसकेको वडा अध्यक्ष हल्वाईले भन्नुभयो ।
वडा भित्र रहेको बस्तीमा बाटो र सरसफाईलाई पहिलो प्रथामिकतामा राखेका छौं । किङगरियनपुर्वामा पनि बाटोको लागि पहल नभएको होइन तर सो गाउँका स्थानियले बाटोको लागि सहमति नगरि निकास खोज्ने गरेको वडा अध्यक्षले भन्नुभयो । बस्तीमा समस्या छ भने निकास आफै खोज्ने पहल हामीले गछौं वडा अध्यक्ष हल्वाईले भन्नुभयो । किङगरियनपुर्वा बस्तीमा हजारौको जनसंख्या छ जहाँ साँझा विहान मेला नै लागेको जस्तो भिड हुन्छ र व्यपार पनि राम्रै चल्ने गरेको स्थानियहरु बताउछन् ।
