पूर्ण सार्की डोल्पा : हिमाली जिल्ला डोल्पाको दुनैमा सुविधा सम्पन्न रंगशाला बन्ने भएको छ । शहरी विकास मन्त्रालयको सहयोगमा ठुलिभेरी नगरपालिका अन्तर्गत पर्ने दुनैमा सुविधा सम्पन्न रंगशाला बन्ने भएको हो । हिमाली क्षेत्रमा रंगशाला नहुदा अधिकांश खेलप्रेमी तथा खेलाडीहरु खेल अभ्यासबाटै बञ्चित भएकोले मन्त्रालयको सहयोगमा डोल्पा दुनैमा ७ करोड पचास लाख लागतमा रंगशाला निमार्ण हुने भएको ठुलिभेरी नगरपालिकाको नगर प्रमुख सुवर्ण बुढाले जानकारी दिनुभयो ।
लामो प्रयासबाट रंगशाला निर्माणका लागि बजेट पार्न सफल भएको बताउँदै रंगशालाका डिपिआर भएर पनि टेण्डर खुलिसकेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागि महत्वपूर्ण मानिने खेलका विभिन्न विधामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनका लागि सुविधायुक्त जिल्लामा रंगशाला अत्यावश्यक रहेको उहाँको भनाइ छ ।
डोल्पाको सदरमुकाम दुनै ठुलिभेरी नगरपालिकामा पर्ने भएतापनि समग्र डोल्पावासीका युवाहरुको आवश्यकतालाई प्राथमिकतामा राखेर रंगशाला निर्माण हुन लागेको उहाँले बताउनुभयो । समृद्ध नगरपालिका निर्माण गर्ने आफ्नो प्रमुख दायित्व भएकाले व्यक्तिगत भन्दा पनि सामूहिक विकास निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने नगर प्रमुख बुढाले बताउनुभयो ।
डोल्पामा रंगशाला नहुदा बर्षौ देखि खेल अभ्यास तथा खेलाडी उत्पादनमा कठिनाई हुर्दै आएतापनि स्थानीय सरकारबाट निर्वाचित नगर प्रमुखको नेतृत्वमा छोटो समयै करोडौँ बजेटको रंगशाला निर्माण हुने भएपछि डोल्पाका युवाहरु हर्षित भएका छन् ।
