नेपालगन्ज : बाँकेमा किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम प्रभावकारी देखिएको छ । सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले चार वर्ष अघि यो कार्यक्रम बाँकेका कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा लागू भएको थियो ।
अपांग सशक्तीकरण एवम् संचार केन्द्र डेक नेपालको आयोजना तथा भिएसओ र ह्याण्डिक्याप इन्टरनेशनलको सहयोगमा सुरु गरिएको यो परियोजनाबारे आज नेपालगन्जमा प्रदेशस्तरीय सिकाई आदान प्रदान तथा बहिर्गमन कार्यक्रमको आयोजना गरी चार वर्षको अवधिमा भए गरिएका क्रियाकलापबारे जानकारी गराउने काम आयोजकले गरेको छ । लुम्बिनी प्रदेशका सात स्थानीय तहका ३४ विद्यालयमा यो परियोजना संचालनमा छ । बाँकेमा भने तीन पालिकाका ४१७ जना अपांगता भएका बालबालिका र सीमान्कृत समुदायका बालबालिकालाई परियोजना अन्तर्गत विद्यालयको पहुँचमा ल्याइएको छ । २६२ सीमान्कृत समुदायका बालबालिकाहरु निरन्तर विद्यालयमा छन् ।
यो कार्यक्रमले ११ जना सुनुवाई सम्वन्धि अपांगता र एक जना दृष्टिविहीन बालबालिकालाई पनि विद्यालयको पहुँचमा ल्याउने काम भएको छ । ‘किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम सुरु भएपछि सुरुमा हामीले सीमान्तकृत समुदायका र अपांगता भएका बालबालिकाहरु विद्यालयको पहुँचमा छन् छैनन त्यसको पहिचान गर्छौ कार्यक्रम संयोजक श्यामकृष्ण मण्डलले भने–‘नभएका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउन सहायक सामाग्री उपलब्ध गराउनेदेखि आर्थिक अवस्था सुधारमा सहयोग गर्ने गरेका छौं ।’ बाँकेका तीन पालिकाका ७ वटा सामुदायिक सिकाई केन्द्रको समेत स्थापना गरिएको उहाँले बताउनुभयो ।

ती सामुदायिक सिकाई केन्द्र स्थानीय तहलाई हस्तान्तरणको योजना बनाइएको पनि उहाँले बताउनुभयो । कार्यक्रम अवधि पूरा भएपनि ति बालबालिकाहरुको शैक्षिक निरन्तरताका लागि राज्यले जिम्मेवारी लिनुपर्ने डेकका कार्यकारी निर्देशक देविदत्त आचार्यको भनाइ छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयका उप–सचिव मनोज गैरेले सबै बालबालिकालाई शिक्षको मुलधारमा ल्याउन सरकारले समावेशी शिक्षाको अवधारणलाई अघि सारेको बताउनुभयो । कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने सवालमा सरकार अत्यन्तै चनाखो रहेको पनि उल्लेख गर्नुभएको छ ।

डेक बाँकेका अध्यक्ष हरिकला थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राई, खजुरा गाउँपालिकाका उपप्रमुख मञ्जु मल्ल, बैजनाथ गाउँपालिकाका उपप्रमुख निर्मला रोकाय, लुम्बिनी प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयका शिक्षा अधिकृत भागिरथ अधिकारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा परियोजना लागु भएका पालिकाका शिक्षा अधिकारीहरु, विद्यालयका प्रअ, लक्षित वर्गका अभिभावकहरु, परियोजनामा समेटिएका बालबालिकाहरु समेत सहभागि भएका थिए ।

