नेपालगन्ज : गुणस्तर परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालय बाँकेका सामुदायिक विद्यालयमा पहिलो भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको गुणस्तर मापनमा धम्बोझी माविले सवैभन्दा धेरै अंक ल्याएको छ ।
शैक्षिक सत्र २०७८ मा गरिएको मूल्याङ्कनमा धम्बोझी माविले ८६.०१ प्रतिशत अंक ल्याएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अनुसार, राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालय दोस्रो भएको छ । उक्त विद्यालयले ७९.४४ अंक ल्याएको छ ।
त्यसैगरी, ७६.३९ अंक ल्याएर खजुरा गाउँपालिका ३ सन्तकुटीस्थित जनता मावि तेस्रो भएको छ भने खजुरा गाउँपालिका सिर्जना टोलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले चौथो स्थान हासिल गरेको छ । उसले ७४.५० अंक पाएर चौथो हुँदा राप्तीसोनारी गाउँपालिका ९ ढकेरीस्थित गणेश माध्यमिक विद्यालयले ७४.०८ अंक ल्याएर पाँचौँ हुँदा डुडुवा गाउँपालिका ५ डलैपुरस्थित ज्ञानदिप माविले ७३.८९ अंकका साथ छैठौँ भएको छ ।
सातौँ स्थानमा आएको सिद्धेश्वर माध्यमिक विद्यालय सिधनवाले ७३.७६ अंक पाउँदा आठौँ स्थान ओगट्न सफल भएको प्रभात मावि जी गाँउले ७२.६६ अंक पाएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
नवौँ स्थानमा जय जनता मावि थपुवा भएको छ । उसले ७२.६६ अंक पाएको छ । केन्द्रका अनुसार, जनज्ञानज्योती मावि कौशिलानगर १० औँ र शिवशक्ति मावि पेरानी ११ औँ स्थानमा आउन सफल भएका छन् । जय जनता माविले ७१.३८ र शिव शक्ति माविले ७०.८५ अंक पाएको छ ।
शैक्षिक सत्र ०७८ मा कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको केन्द्रको प्रतिवेदनले देखाएको छ । ‘कुनै दिन त्रिभुवन माध्यमिक विद्यालयले कोहलपुरमा एक छत्र राज गरेको थियो, तर शैक्षिक सत्र २०७८ को नजितामा टप १० भित्र पनि नाम देखिएन । आदरणिय बलराम यादव सरको याद आयो,’ प्याब्सनका नेता यमबहादुर रावतले भन्नुभयो ।
जिल्लाकै उत्कृष्ट विद्यालयलाई उपमहानगरको असहयोग
नेपालगन्जस्थित धम्बोझी मावि दुई बर्षदेखि उत्कृष्ट हुँदै आएको छ । गत बर्षको एसईईमा पनि धम्बोझी माविका विद्यार्थी सामुदायिक विद्यालय तर्फ पहिलो र दोस्रो भएको प्रधानाध्यापक बामदेव सुवेदीले जानकारी दिनुभयो ।
उहाँले शैक्षिक गुणस्तरमा धम्बोझी मावि उत्कृष्ट भए पनि नेपालगन्ज उपमहानगरपालिकाले सहयोग नगरेको बताउनुभयो । उपमहानगरको सहयोग पाए विद्यार्थीलाई अझ गुणस्तरिय शिक्षा दिन सकिने उहाँको भनाई छ । ‘उपमहानगरले सहयोग नगरे पनि विद्यालयलाई जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा दर्ज गर्न सफल भएका छौँ,’ उहाँले भन्नुभयो, ‘कहिँकतैबाट सहयोग नपाए पनि हामी आफ्नो कर्तब्यबाट विमुख हुने छैनौँ ।’ धम्बोझी माविमा प्राविधिक धार तर्फ कक्षा ९–१२ सम्म कम्प्यूटर इन्जिनियरिङको पढाई हुँदै आएको छ ।
