नेपालगन्ज : नेपाल कृषि प्रधान देश हो तर पनि यहाँका युवा बर्षेनी लाखौंको संख्यामा खाडी मुलुक कृषि पेशा गर्न जाने गर्दछन् । आफ्नो देशमा कृषि व्यवसाय गर्न लजाउने तर बाह्य देशमा जस्तो सुकै काम पनि गर्न पनि पछि नहट्ने लाखौंलाख नेपाली युवा खाडी मुलुकमा भाँडा माज्ने, कृषि व्यवसाय गर्ने गर्दछन् । रोजगारीका लागि बर्षौ देखी कृषि लगायत अन्य पेशामा खाडी मुलुकमा रगत पसिना बगाउँदै आएका नेपाली नागरिकलाइ प्रोत्साहन गर्न र आफ्नै देशमा गरे के हँुदैन भन्ने उदाहरण शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बाँके मार्फत सञ्चालित शिव शिखर कृषि अनुसन्धान केन्द्र बाँकेले प्रमाणित गरेको छ । लामो समयदेखि अरुको जग्गा लिजमा लिएर संस्थाले कृषि कर्ममा जुटेको छ । लिजमा लिएको जग्गामा पनि सुन फलाउन सकिने शिव शिखरले सावित गरेको छ । कृषि लगायतको पेशा, व्यवसायलाई अंगाले खाडी मुलुक जान नपर्ने जस्ता उदाहरणीय कार्य गर्दै वेमौसमी खेती गरि स्थानिय युवालाई कृषि कर्ममा लाग्न उत्प्रेरणा लगायत आफ्नै ठाउँमा गरे के हुदैन भनेर सावित गरेको छ शिव शिखरले ।
स्थानिय युवालाई आफ्नै ठाउँमा रोजगारी प्रदान समेत गर्दै आएको शिव शिखरले २०७१ सालमा बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा साढे २२ विगहा जग्गा लिजमा लिएर कृषि व्यवसायमा अग्रसरता देखाएको हो । आफ्नै गाउँठाउँ आफ्नै देशमा आफ्नै माटोमा कृषि व्यवसाय गरेर स्थानिय युवालाई उदाहरणिय कार्य गर्दै शिव शिखरले प्रमाणित गरेको छ ।

८ बर्षको लागि लिजमा लिएको जग्गामा शिव शिखरले बाख्रा १ सय २० वटा , पाडा ४८ वटा, भैसी १५, चाइनीज हाँस २५ वटा, राजा हाँस १८ वटा , लोकल हाँस ८ वटा , माछा, कुखुरा उत्पादन गरि विक्रि वितरण गरि आम्दानी लिन सफल भएको छ । यति मात्र नभई फलफुलका विरुवा उत्पादन तथा फलफुलका विरुवा रोपी फल विक्री गरिने गरेको शिव शिखरका अप्रेशन इन्चार्ज गणेश न्यौपानेले बताउनुभयो ।
शिव शिखरले पशुपालन तथा नर्र्सरीमा फलफुलका विरुवा लगाउने र उत्पादन गर्ने उद्देश्यका साथ बैजनाथको छमनियामा आफ्नै ४ विगहा ६ कठठा जग्गामा पशु पालन तथा नर्सरीमा फलफुलका विरुवा उत्पादन गर्ने उद्देश्यका साथ व्यवसाय संचालन गरेको न्यौपानेले बताउनुभयो । १५ सय कागती ६ सय अम्बा, ६ सय अंमला, जामुन लगायतका फलफुलहरु रोपीसकेको न्यौपानेले बताउनुभयो । शिव शिखरले कृषि पेशाका लागि ८ जना कर्मचारी र समय अनुसार स्थानिय नागरिकलाई मासिक रुपमा लेबरी लगाउने कार्य गर्दै आएको न्यौपानेले बताउनुभयो ।
शिव शिखरले उत्पादन गरेको पशुपालनमा बैजनाथ १ गाभरका पर्शुराम शर्मा जम्नु भएको छ । उहाँले अहिले ३४ वटा पाडाको हेरचाह गर्नमा जम्नु भएको हो । शर्माको दैनिकी पाडालाई हेरचाह गर्नेमा दिन वित्ने गरेको छ । विहान उठ्ने वित्तिकै पानी खुवाउने खाना दिने चराउन जानमा दिन वित्ने गरेको उहाँले बताउनुहुन्छ ।
२ बर्षदेखि यहि पेशामा निरन्तरता दिएको छु उहाँले भन्नुभयो । आफ्नै गाउँठाउँमा रोजगारी पाएको प्रति आफु सन्तुष्ट रहेको बताउनुभयो । घर नजिकै छ हेरचाह गरेर घरमा पनि समय दिन सकिने र आम्दानी पनि हुने भएको हुनाले पशुपालनमै रमाउने बानी परिसकेको हुनाले आफु खुशी रहेको उहाँले बताउनुभयो । शिव शिखरले २२ विगहा जमिनको मासिक ७० हजार भाडा तिर्नु परेको थियो । अहिले आफ्नै जमिनमा कृषि कर्ममा जुटेको शिव शिखरले जानकारी गराएको छ ।
