नेपालगन्ज । नेपालगन्जको सिमावर्ती बजार रुपइडिहामा लखनऊको प्रसिद्ध अपोलो मेडिक्स अस्पतालले शनिवारबाट सुपर स्पेसलिष्ट ओपीडी सेवा दिने भएको छ ।
रुपइडिहाको अमान किदवई कम्प्लेक्स ,इँग्लिश मिडियम प्राईमरी स्कूलकै सामुन्ने बहराइचका एमएलसी डा. प्रज्ञा त्रिपाठी, बहराइच जिल्लाका बिजेपी अध्यक्ष श्याम करन, टेकडीवाल र सोही जिल्लाकै प्रहरी प्रमुख एसपी अशोक कुमारबाट संयुक्त रुपमा शनिवार दिउँसो ३ बजे सुपर स्पेसलिष्ट ओपीडी सेवाको उद्घाटन गर्ने भएका छन् ।
अस्पतालका सहायक प्रबन्धक ध्रुब गौड्का अनुसार उक्त सुपर स्पेसलिष्ट ओपीडी सेवा हरेक महिनाको पहिलो शनिबार ३ बजेदेखि साँझ ५ बजेसम्म दिइनेछ । त्यस क्षेत्रका स्थानीय र नेपालीका लागि लखनऊ जानै नपरी लखनऊका प्रसिद्ध चिकित्सकद्वारा रुपईडिहामै पाइने ओपीडी सेवाले धेरै फाइदा पुग्ने सहायक प्रबन्धक गौड्ले बताए ।
महिनाको पहिलो शनिबार दिइने उक्त सुपर स्पेसलिष्ट ओपीडी सेवा गम्भीर रोगका बिरामी अथवा अन्य बिरामीका लागि अपोलो अस्पतालका प्रसिद्ध न्युरोलोजिष्ट विशेषज्ञ डा. धवल नारांग , नेफ्रोलोजी एबम किड्नी रोग विशेषज्ञ डा. जाँनी अग्रवाल लगायतका अन्य विशेषज्ञ सेवाका चिकित्सकहरुले ओपिडी सेवा दिनेछन् ।
अस्पतालका प्रसिद्ध विशेषज्ञहरुले सेवा दिने भएकाले हरेक रोगका बिरामीलाई सेवा लिन अस्पतालका सहायक प्रबन्धक गौड्ले अनुरोध गर्दै केही समय पश्चात् प्रसिद्ध वरिष्ठ कार्डियोलोजिष्टबाट समेत सेवा दिइने बताए । उनका अनुसार ओपीडी सेवा शुल्क ६ सय रुपैयाँ रहेको छ ।
