(Wednesday 28th of October 2026)
`

नरैनापुरमा १० प्रतिशत मात्र रोपाइँ

  • सगरमाथा गन्तब्य
  • 8.6K
    SHARES

    सरला सुवेदी – नरैनापुर : राज्यले नि पछि पारेको नरैनापुर गाउँपालिकालाई यसपाली मौसमले नि पछि पारेको छ । साउनको १७ लागिसक्दा पनि नरैनापुर गाउँपालिकामा पानी पर्न नसक्दा आजको दिनसम्म रोपिएको १० प्रतिशत खेत रोपाइ पनि अबको एकहप्ता सम्म पानी नपरे पुरै धान र बिउ सुक्ने नरैनापुरका एक स्थानिय बताउँनुहुन्छ । उहाँले अबपनी पानी नपरे नरैनापुर गाउँपालिकालाई सुख्खा गाउँपालिका घोषणा गरे हुने भन्दै दुखेसो पोख्नुभयो ।
    नरैनापुर वडा नम्बर २ बेउचहवा गाउँका राम सुरत मौर्या आफ्नो ३० कट्ठा जग्गामा आजसम्म १० कठ्ठा पम्पसेट बाट रोपेको बताउँनुहुन्छ । मौर्यालाई रोपाइँको सिजनमा पम्सेट चलाउन महँगो डिजेल किन्नुपरेको कारण चिन्तित हुदै मर्कामा परेको बताउँनुभयो । यसपालिको धान खेती गरेर पार नलाग्ने सोचमा भएको उहाँले बताउँनुभयो । आफ्नो स परिवारनै कृषि पेशाबाट चल्ने उहाँले बताउँनुभयो ।
    किसानको समस्या त कसैले सुन्दैनन् भनेको बेला मल बिउ पाइँदैन फेरि पानी नपरेकोले महँगो डिजेलले थप समस्या भएको छ ।’ राम सुरत मौर्या एक प्रतिनिधि पात्र मात्रै हो । नरैनापुरका सबै किसानहरूलाई यस वर्षको धान खेती गर्न निकै धौधौ परेको छ ।
    नरैनापुरमा अहिलेसम्म वर्षात् सुरु नहुँदा रोपाइँ गर्न निकै समस्या भएको छ । साउनको पहिलो सातासम्ममा धान रोपाइँमा नरैनापुरका किसानहरू फाट्टफुट्ट खेतमै व्यस्त देखिन्थे भने यसपालि माना रोपेर मुरी फलाउने किसानहरूलाई पानी नपरेर समस्या परेको छ । किसानहरूको खेतमा रोपेको धान पनि र धानका बेर्ना पनि सुक्न थालेका छन् । पानी नपर्दा डिजेल प्रयोग गरेर बोरिङबाट सिँचाइ गर्नुपर्ने बाध्यता भएको छ ।
    नरैनापुरका अधिकांश किसानहरू आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गर्दछन् । तर, साउनको दोस्रो सातासम्म पनि मनसुन सुरु नहुँदा यहाँका किसानहरू आकाश हेरेर बस्नुपर्ने बाध्यता छ भने पालिकाबाट केही पहल हुन्छ कि भन्ने आसमा दिनभरी पालिकामा गएर आफ्ना समस्या सुनाउने गरेको नरैनापुरका किसानहरु बताउछन् । वडा नम्बर २ बेउचहवाकै निसार अहमद खानको पनि ४० कठ्ठा खेतीयोग्य जमिन छ तर आजसम्म १५ कठ्ठा मात्र रोपाइँ गरेको उहाँले भन्नुभयो । डिजेल महँगो, मलखाद महँगो कसरी किसानले खेती गर्ने । यसपालिको धान रोपाइँ गर्न निकै महँगो परिरेहको खानले दुखी हुदै गुनासो पोख्नुभयो ।
    पानी नपर्दा छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सकिन लागेको छ । मनसुन छिट्टै सुरु हुन लागेकोले धान रोपाइँ पनि छिटो नै गर्ने सोच बनाएका नरैनापुरका किसानहरूको अहिले मनसुन कुरेर बस्न बाध्य भएको बताउँछन् । सरकारले कहिल्यै किसानका समस्याबारे केही बोल्दैन किसानहरु दुखी हुदै बताउँछन् ।
    यसपालि रोपाइँमा लागत खर्च बढ्ने भयो, डिजेल पनि बढ्यो मलखाद अभावमा किसानको मिहिनेत धेरै भयो उत्पादन नभएपछि खर्च पनि उठ्दैन नरैनापुर वडा नम्बर ३ कालाफाटा गाउँका अर्का किसान राम कुमार शर्माको पीडा पनि उस्तै छ, उहाँ पनि दिनभर पालिकामै गएर अरु किसान जस्तै आफ्ना समस्या सुनाउन पालिका धाउने गरेको बताउँनुहुन्छ पालिकाले आजसम्म सिचाईको पहल गरेपनी त्यो सम्पन्न र संचालन हुन नसकेको तर अहिले भन्ने बित्तिकै सिचाई ल्याउन नसकिने हुँदा पालिकाले हामी किसानहरुको लागि कृषी मिटरको व्यवस्था गरिदियोस भनेर गाउँपालिका धाउने गरेको उहाँले बताउँनुभयो । उहाँको पनि ४० कठ्ठा खेतीयोग्य जमिन छ तर आजसम्म कत्तिपनी रोपाई गर्न नसकेको उहाँ बताउँनुहुन्छ ।
    समयमा धान रोपाइँ गर्न नसक्दा उत्पादन पनि कम हुने चिन्ता किसानलाई परेको छ । सरकारले कृषिमा अर्बाैको लगानी गरेको भए पनि नरैनापुरका खेतहरुमा अझँ पनि पानी पुग्न नसकेको किसानहरू बताउँछन् ।
    नरैनापुर गाउँपालिकामा ३ हजार ९ सय ६६ हेक्टर जमिन खेतियोग्य रहेकोमा ३ हजार ७ सय ८ हेक्टर जमिनमा खेती गरिएको नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारी बताउँनुहुन्छ । उहाँले यसपालि नरैनापुरमा मनसुन नभित्रीएको कारण किसानहरुले १० प्रतिशत मात्र धान रोपाइँ गरेको बताउँनुभयो ।
    पालिकाको सहयोगले दुई ठाउँमा डिप बोरिङ्ग सन्चालन गरिएको हुँदा कहिकतै रोपाइँ भएको उहाँले भन्नुभयो । गाउँपालिकाले सिक्टा सिचाई अन्तरगतको नहर अर्को बर्षसम्म संचालन हुने समेत उहाँले जानकारी गराउँनुभयो । उहाँको अनुसार यसपालि नै सम्पन्न भैइसक्ने सिचाईको काम स्थानिय केही व्यक्तिका कारण बाधा अवरोध सिर्जना भएको हुँदा तत्काल सन्चालन हुन नसकेको हो । नरैनापुर गाउँपालिका भनेको कृषि पकट क्षेत्र त्यसमा नि धान उत्पादनको लागि प्रचलित मानिन्छ प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नरैनापुर गाउँपालिका २,४ र ५ नम्बर वडालाई पुर्ण रुपमा धान पकट क्षेत्र घोषणा गरिएको समेत उहाँले जानकारी गराउँनुभयो ।
    यसपालि आकासे पानी नपरेर नरैनापुरका किसानलाई मात्र नभैइ हामी सबैलाई चोट पुगेको छ भन्दै सुख्खा नै लाग्यो अबको केही दिनमा पानी परेन भने किसानको लागि राहत कार्यक्रम ल्याउनु पर्ने अवस्था सिर्जना हुने कृषि शाखा प्रमुख भण्डारीले बताउँनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology