नेपालगन्ज – बाँके कोहलपुरकी एक युवतीले २ करोड ५० लाख रुपैयाँको जीवन बीमा रकम लिनका लागि आफ्नै श्रीमानको सवारी दुर्घटना गराई हत्या गराएको रहस्य खुलेको छ ।
२०७८ वैशाख २ गते मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका ११ बस्ने सर्जन विकलाई मिनी बसले ठक्कर दिँदा उहाँको मृत्यु भएको थियो । बिमा रकम लिने उद्देश्यले उक्त दुर्घटना नियोजित रूपमा गराइएको प्रहरी अनुसन्धानबाट खुल्न आएको ।
प्रहरीले उक्त हत्यामा संलग्न रहेको आरोपमा मृतकका पत्नी २१ वर्षकी सपना मल्ल, स्याङ्जा वालिङ ६ घर भई हाल बाँकेले कोहलपुर ११ बस्ने ३१ वर्षीय सन्जीव अर्याल, कोलहपुर १५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका ८ का ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, कोहलपुर ११ का ३८ वर्षीय दीपक केसी र कोहलपुर १ की २१ वर्षीय आरती भन्ने ललिता सापकोटालाई विभिन्न मितिमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।
गत बैशाख २ गते भे १० प १७२७ नम्बरको मोटरसाइकलमा सवार विकलाई बैजनाथ ६ लालपुरको भित्री सडकमा विपरीत दिशाबाट आइरहेको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिएको थियो । उहाँको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनापछि मिनीबस चालक टोपबहादुर राना क्षेत्री सवारी दुर्घटना गराएको कसूरमा ३० दिन कैद र २० हजार रुपैयाँ जरिबाना तिरेर निस्किनुभएको थियो । तर, उहाँ बाहिर आएपछि मृतक विकको जीवन बीमा वापतको रकम रिलायन्स लाइफ इन्स्योरेन्सबाट लिएर मृतकका पत्नीसहित पक्राउ परेका व्यक्तिहरूले बाँडफाड गरी लिएको भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
त्यसक्रममा एक महिना अघि मात्र विवाह गरेकी आफ्नै पत्नी सपनासहितका व्यक्तिहरूले जीवन बीमावापतको रकम लिनकै लागि बिकको नियोजित ढंगले हत्या गरेको खुलेको प्रहरीको दाबी छ ।
