कोहलपुर : प्रहरी हिरासतमा रहेका महिलामाथि जवरजस्ती करणी गरेको तथ्य बाहिर आएको छ । बिहीवार एक महिला भारत कमाउन जान लाग्दा बाटोमा माइती नेपाल संस्थालाई शंका लागेपछि महिलालाई रोकेको थियो । माइती नेपालले सोधपुछका लागि इलाका प्रहरी कार्यालयमा बुझाएको ति महिलामाथि हिरासत मै बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कोहलपुर मुद्दा फाँटका असईले प्रबिन चौलागाईले जवरजस्ती करणी गरेको आरोप आफ्नो श्रीमान समक्ष जानकारी गराउनुभएको हो । बहुविवाह मुद्दामा अनुसन्धानका लागि थुनुवा कक्षमा रहेका महिलालाई इप्रका कोहलपुरको मुद्दा फाँटमा कार्यरत असई प्रविण चौलागाईले जवरजस्ती करणी गरेको महिलाका आफन्तले जनाएका छन् । थुनुवा कक्षमा रहेकी महिलालाई अनुसन्धान तथा सोधपुछको लागि बोलाई करणीको प्रयास गरेको तर हिरासत कक्षमा रहेका अन्य थुनुवाहरुले हल्ला गर्दै विरोध जनाएको गोप्य श्रोतले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान तथा छानविनका लागि बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपाने जिल्लामा असई चौलागाईलाई बोलाएको जानकारी गराउनुभयो ।
यस विषयमा थप अनुसन्धानका लागि महिलाहरुको आफन्तलाई समेत बोलाई सोधपुछ गर्ने उहाँले जानकारी गराउनुभयो । घटनाको छानविन तथा अनुसन्धान पछि आरोपित पाइएमा कानुन बमोजिम कारवाही हुने बाँके प्रहरी प्रबक्ता न्यौपानेले जानकारी गराउनुभयो । यता प्रहरीले भने आफन्तलाई प्रलोभनमा पार्दै बयान फेर्न दवाव दिएको आफन्तले जनाएका छन् ।
