(Saturday 25th of July 2026)
`

एसईईको नतिजा बुधवार सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ रिजल्ट

  • सगरमाथा गन्तब्य
  • 10K
    SHARES

    बाँके : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने गरी सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले दिएको जानकारी अनुसार नतिजा बुधबार दिउँसो सार्वजनिक गर्ने तयारी गरिएको बताउनुभयो । यसपटक बोर्डले मूल्याङ्कन र नतिजा प्रणालीमा केही परिवर्तन गरेको छ ।
    बोर्डले यसै वर्षदेखि लागू हुने गरी शैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ । नतिजा सार्वजनिक भएको एक÷दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्ने नियन्त्रक रायमाजीले जानकारी दिनुभयो । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षको मूल्याङ्कन भने अलग–अलग हुने भएको छ ।
    यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गर्ने गरिएकोमा एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ । परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए प्लस’ ग्रेड जसलाई जीपीए ४ दिइनेछ । ८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ । त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिने छ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ । ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ ।
    ५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिइन्छ र जीपीए २ दशमलव ४ मानिनेछ । ४० देखि ५० अङ्कसम्मकालाई ‘डी’ प्लस ग्रेड मानिने र जीपीए २ दिइनेछ । त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १ दशमलव ६ दिइनेछ ।
    ३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन । यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य ठहरीनेछन् । परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।
    बोर्डको दुबै वेबसाइट www.see.gov.np / www.neb.gov.np बाट, नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर तथा विभिन्न वेबसाइटबाट र विभिन्न सेवाप्रदायक कम्पनीमा एसएमएस गरेर नतिजा हेर्न सकिने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । एसईई वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ९५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology