(Wednesday 28th of October 2026)
`

विद्यार्थीको चापका कारण धम्बोझी माविले प्रवेश परीक्षा लिएर भर्ना गरिदै

  • सगरमाथा गन्तब्य
  • 8.6K
    SHARES

    नेपालगन्ज : बाँकेको नेपालगन्ज– १ मा सञ्चालनमा रहेको सामुदायिक विद्यालय धम्बोझी माध्यामिक विद्यालयमा विद्यार्थीको अधिक चापका कारण विद्यार्थी भर्नामा प्रवेश परिक्षा लिनु परेको विद्यालय प्रशासनले जनाएको छ ।
    प्राविधिक धारको कक्षा ९–१२ को कम्प्युटर ईन्जिनियरिङ्ग कक्षा समेत सञ्चालन गर्दै आएको धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाको लागि प्रवेश परिक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक बामदेव सुवेदीले जानकारी दिनुभयो ।
    विद्यालयमा सिमित दरबन्दी र भौतिक पूर्वाधारको कमिका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको विद्यालयका प्रधनाध्यापक सुवेदीले बताउनुभयो । विद्यार्थीको चाप अनुसारको कक्षा कोठासंगै बस्ने डेस्क बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको उहाँको भनाई छ ।
    उहाँले भन्नुभयो– ‘विद्यार्थी चाप अनुसारको शिक्षक दरबन्दी, कक्षा कोठा, फर्निचर अभावका कारण विद्यालयमा भर्नाहुन आउने सबै विद्यार्थीलाई भर्ना गर्ने अवस्था छैन । अभिभावक आफ्ना बालबालिकाले किन भर्ना हुन नपाउने भनेर बादविवादमा उत्रने पनि गर्नुहुन्छ विद्यालयको भौतिकपूर्वाधारको कमी र अन्य समस्याले गर्दा भर्ना लिन नसकेको भन्दै फर्काउदा हामी पनि दुखी छौ ।’
    सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र तिनका अभिभावकलाई भर्ना गर्नको लागि ठाउँ छैन भनेर फर्काउनु पर्दा आफैलाई नमज्जा लाग्ने तर, विद्यालयमा भौतिक पूर्वाधारको कमीको कारण फर्काउन पर्ने आफुहरुको बाध्यता रहेको उहाँले बताउनुभयो । विद्यालयले थप भर्ना लिनलाई रोक लगाएको छ ।
    विद्यालयमा प्राविधिक धारको कम्प्युटर ईञ्जिनियरिङ्ग सञ्चालन गरेको छ । कक्षा ९–१२ को लागि विद्यालयले प्राविधिक धारको कक्षा ९ बाटै ४८ सिटका लागि प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी भर्ना गर्ने गरिएको छ । सो का लागि शनिबार लिएको प्रवेश परिक्षामा ७३ जना विद्यार्थीले सहभागिता जनाएको विद्यालयका सहायक प्रधानाध्यापक पूर्णबहादुर शाहीले जानकारी दिनुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाराज उपाध्यायले विद्यालयमा विद्यार्थीको चाप अत्याधिक बढेपछि भर्ना लिनको लागि प्रवेश परिक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाईएको जानकारी दिनुभयो । उहाँले विद्यालयको भौतिक संरचना खासगरी कक्षा कोठा र फर्निचरको अभावको कारण सबै विद्यार्थीलाई भर्नालिन असहज भएको बताउनुभयो ।
    नेपालगञ्जको धम्बोझीमा रहेको धम्बोझी माविमा बालविकास केन्द्रदेखि १२ सम्म २ हजार ७ सय ३७ विद्यार्थी चालु शैक्षिक शत्रका लागि भर्ना भएका छन् । विद्यालयले दिएको जानकारी अनुसार बालविकास केन्द्रमा १ सय ११, कक्षा १ मा १ सय २३, कक्षा २ मा १ सय १४, कक्षा ३ मा १ सय १२, कक्षा ४ मा १ सय ४५, कक्षा ५ मा १ सय ३१, कक्षा ६ मा १ सय ८९, कक्षा ७ मा २ सय ३७, कक्षा ८ मा २ सय ८, कक्षा ९ मा २ सय ७३, कक्षा १० मा २ सय ३८, कक्ष ११ मा ४ सय ८० कक्षा १२ मा ३ सय ७६ जना भर्ना भएका छन् ।
    नेपालगञ्ज उपमहानगरका सबै सामुदायिक माविहरुमा भन्दा धम्बोझी माविमा विद्यार्थीको चाप अधिक भएकोले विद्यालय दुई सिफ्टमा सञ्चालन गर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्याय बताउँनुहुन्छ । उहाँले विद्यालयको शिक्षक दरबन्दी, कक्षा कोठा र फर्निचर थप हुन सके थप विद्यार्थी भर्ना लिन सकिने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology