खजुरा : राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । १० वर्ष ४ महिनापछि राष्ट्रिय जनगणना सुरु भएको हो । बाँकेको नेपालगन्ज, खजुरा लगाएतका क्षेत्रमा जनगणना सुरुवातको अवसरमा प्रभातफेरी निकालिएको छ । सम्बद्ध निकायहरुले जनगणनाको खुसियालिका साथै गणनालाई प्रभावकारी बनाउन बजार परिक्रमा समेत गरेका छन ।
कार्तिक २५ देखि मंसिर ९ गतेसम्म संचालन हुने राष्ट्रिय जनगणनालाई सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रभातफेरीका सहभागीले दिल प्रकाश शर्माले बताउनुभयो । खजुरामा स्थानिय जनगणना कार्यालयले एक प्रभातफेरी गर्दै सचेतना जगाउने काम समेत गरेको स्थानिय जनगणना अधिकारी सुरेस साहुले जानकारी दिनुभयो । खजुरामा रहेको स्थानिय जनगणना कार्यालयले मात्रै ११५ जना गणक कर्मचारी खटाएको सहायक स्थानिय जनगणना अधिकारी राजेन्द्र कुमार बर्माले जनाउनुभयो । जानकी गाउँ पालिका र खजुरा गाउँपालिका क्षेत्रमा उक्त ११५ जना गणक कर्मचारीहरुले जनगणनाको डाटा संकलन गर्ने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्थानिय जनगणना समन्वय समित संयोजक मणिराम खरालले जानकारी दिनुभयो ।
जनगणनाका लागि देशैभर गरी ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा संघियता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो । यसअघि कोरोना महामारीका कारण जनगणना कार्यतालिका स्थगित भएको थियो । यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।
