किसान नेपालले असार पहिलो हप्तासम्म चैते धान थन्क्याएर बर्खे धान लगाउने तयारी गरेको बताए । परीक्षणका रूपमा उनले हल्दीनाथ ३ र चैते धान ५ नामक धानको बिउ रोपेका हुन् । लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टा सिँचाइको नहर घर नजिकै पुगेपछि चैते धानको खेती लगाएका हुन् । एक वर्षमै शुरुमा बर्खे धान, त्यसपछि हिउँद्मा मसुरो र चैतमा चैते धान खेती गरेको नेपालले बताए ।
सिँचाइ सुविधा पुगेपछि अन्य खेतीपाती पनि राम्रो हुन थालेको उनको भनाइ छ । धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल, बिउसमेत उपलब्ध गराएको केन्द्रका अधिकृत दिनेश भट्टराईले बताए । अर्को वर्ष थप किसानलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने उनले जानकारी दिए । बाँकेमा चैते धान फल्ने खेतमा गहुँ, मकै र तरकारीको खेती गर्ने चलन छ ।
बबई सिँचाइ आयोजनाको काम अधुरै
बर्दियास्थित बबई सिँचाइ आयोजनाको मूल नहरको शाखा, उपशाखा र तटबन्धको निमार्णको काम अधुरै रहेको छ । तीन वर्षअघि बेपत्तापुर, कुम्रागाउँ, ढुग्रही र गुरुवा गाउँको तटबन्धका लागि रु ३३ करोड ४२ लाखमा राजेन्द्र शर्मा जेभी धनगढीले ठेक्का लिएको थियो ।
आयोजनाअन्तर्गत गुरुवा गाउँको १ हजार १५० मिटर तटबन्धको काममध्ये ३० प्रतिशत मात्रै पूरा भएको छ । तीमध्ये कुम्रागाउँ र बेपत्तापुरको १ हजार १०० मिटरको काम करीब ९० प्रतिशत पूरा भएको छ । ढुग्रहीको ४५० मिटर तटबन्ध ६४ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । तीन दशकअघि बर्दियामा शुरु भएको बबई सिँचाइ आयोजनाको नहर निमार्णको लागि काम अहिलेसम्म ५१ प्रतिशतमात्रै सम्पन्न भएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीले कामले तीव्रता नपाएको आयोजनाले जनाएको हो । कोरोना माहामारीले समेत काममा बाधा भएको आयोजनाले जनाएको छ । विसं २०७१ सालमा आएको बाढीले ढुग्रहीमा ११ जनाको ज्यान गएको थियो भने यस क्षेत्रमा ९५ प्रतिशत घर डुबानमा पारेका थिए । यसै क्षेत्रमा तटबन्धको कामले गति नलिँदा पुनः बाढी र कटानको जोखिम बढेको स्थानीयवासी कालुराम थारूले बताए । बबई नदीको कटान क्षेत्र मानिएको जब्दीघाट र भैसाहीमा तटबन्ध ५० देखि ६५ प्रतिशत सकिएको छ । निर्माण कम्पनीले म्याद थपेको थपै गर्दा कामले तीव्रता पाएको छैन् । ठेकेदार कम्पनीले काममा चासो नदिँदा ढिलासुस्ती भएको स्थानीयले गुनासो गरेका छन् । न्युज २४ नेपालबाट
