(Wednesday 28th of October 2026)
`

कुखुरा बिक्री नहुँदा किसान चिन्तित, दाना नपाएर मर्न थाले कुखुरा

  • सगरमाथा गन्तब्य
  • 13.5K
    SHARES

    नेपालगन्ज – लकडाउनको असर किसानमा पनि परेको छ । दैनिक दाना पानी, औषधी खुवाउनै पर्ने अवस्थामा दाना नपाएर कुखुरा मर्न थालेपछि किसानहरु मारमा परेका छन् । कुखुरा मर्न थाल्नु र विक्री नहुनु नै ठुलो समस्या भएको किसान बताउछन् ।
    डेढ महिना अघिदेखि दाना, पानी र औषधि खुवाएर हुर्काएका ब्रोईलर कुखुरा खोरभरीले छन्। तर, बिक्री गर्ने कुनै सुरसार छैन। हुर्केका कुखुरा बिक्री नहुँदा नेपालगन्ज–१७ परसपुरका कुखुरा पालक किसान मुबारक अलि अचेल निकै तनावमा हुनुहुन्छ ।
    नयाँ भेरियन्टसहित कोरोना भाइरस तीव्र रुपमा बढेपछि बाँके प्रशासनले यही वैशाख ९ गतेदेखि नेपालगन्ज क्षेत्रमा र वैशाख १३ गते रातीदेखि जिल्लाभर लकडाउन गरेको छ । लकडाउन लगत्तै तयार भएका कुखुरा बिक्री गर्न नपाउँदा युवा किसान मुबारकको लाखौंको लगानी जोखिममा परेको हो। ‘अहिले बजार खुल्दैन, पसल पनि खुल्दैनन्, कुखुरा कसैले पनि लैजान्न,’ पीडा पोख्दै उहाँले भन्नुभयो, गर्मीले गर्दा दिनहुँ कुखुरा मरिरहेका छन्, धेरै टेनसन भइरहेको छ ।’ अचेल दैनिक रुपमा १२ देखि १५ हजार रुपैयाँ बराबरको कुखुरा मर्ने गरेको उहाँले सुनाउनुभयो ।


    खोरमा कुखुरा राखेको सोमबार ४९ दिन पुगिसकेको छ । नेपालगन्जमा लकडाउन सुरु हुँदा कुखुरा ३७ दिनका मात्रै भएका थिए । लकडाउन हुने हल्ला सुनेपनि कुखुरा सानो भएका कारण त्यतिबेला बिक्री नगरेको मुबारक बताउँनुहुन्छ । ‘लकडाउन हुनुभन्दा पहिले बेच्नलाई कुखुरा तयार भएका थिएनन्, अहिले तयार हुँदा बिक्री नै हुँदैन,’ उहाँले गुनासो थप्नुभयो । लकडाउन हुनुभन्दा अघिसम्म उहाँले जिउँदो कुखुरा थोकमा प्रतिकिलो २ सय ५० मा बिक्री गर्नुहुन्थ्यो । लकडाउनमा त्यो भन्दा कममा दिँदा पनि बिक्री भइरहेको छैन । सुरुमा उहाँले खोरमा ९ सय ५० वटा चल्ला हाल्नुभएको थियो । अहिले आधा जति मरेर ५ सय कुखुरा बचेका छन् । कुखुरामा उहाँको करिव ४ लाख लगानी लागिसकेको छ । ‘यसका लागि एक लाख १० हजारको चल्ला किनेको हुँ, २० हजारको त औषधि नै खर्च भएको छ,’ उहाँले निराश हुदै भन्नुभयो, ‘३ हजार ८ सयको दरले ७० बोरा त दाना नै खुवाएको छु ।’ कुखुरा बिक्री नहुने र गर्मीले दिनहुँ मरिरहँदा यसपटक लगानी नउठ्ने र एक÷डेढ लाख उल्टो घाटा लाग्ने उहाँको अनुमान छ ।
    करिव ८ वर्ष वैदेशिक रोजगारी गरेर फर्केको उहाँले गत वर्षबाट कृषिमा हात हालेको बताउनुहुन्छ । आफ्नै जमिनमा करिव ६ लाखको लगानीमा खोर तयार गरेको छु उहाँले भन्नुभयो । गत वर्ष चैतमा पहिलो पटक कुखुरा पाल्न सुरु गरेका उहाँलाई कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि पहिलो गाँसमै ढुंगा लाग्यो । तरपनि उहाँले हिम्मत हार्नुभएनन । लकडाउन खुलेपछि उहाँ फाइदामा जानुभयो । ‘पहिलो चोटी पोहोर साल कुखुरा पाल्दा दुई लाख जति घाटा भएको थियो, त्यसपछि फाइदा हुँदै गयोे, अहिले फेरि लकडाउनले घाटा गरायो,’ कुखुरा पालेरै आफूसहित श्रीमती र तीन जना छोरीको सम्पुर्ण खर्च चलाएको छु उहाँले भन्नुभयो । यसपटक लकडाउनका कारण बजार बन्द हुँदा फेरि घाटा बेहोर्नु परेको मुबारक बताउँनुहुन्छ ।
    सरकारले लकडाउन गरेपनि किसानको उत्पादनलाई बिक्री गर्ने वातावरण मिलाउनुपर्ने उहाँको धारणा छ । लकडाउनका कारण यतिबेला मुबारक जस्ता जिल्लाका थुप्रै किसान मारमा परेका छन् । अधिकांश किसानले आफ्नो उत्पादन बिक्री गर्न पाएका छैनन् । तसर्थ यसमा राज्यले ध्यान दिन आवश्यक रहेको किसानहरुले माग गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology