नेपालगन्ज २६ चैत्र–बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको ईलाका प्रशासन कार्यालय टिकापुर, कैलाली सरुवा हुनु भएको छ । गृहमन्त्रालयले बिहीबार बाँके सहित देशभरका ८ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गको ईलाका प्रशासन कार्यालय टिकापुर, कैलालीमा सरुवा भएको हो ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ८ जिल्लाका प्रजिअसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेका हुन् । देशभरका ८ प्रजिअसहित २६ सह–सचिव र उपसचिवको सरुवा गरिएपछि गृहमन्त्रालयले बाँकेको जिल्ला अधिकारीका रुपमा गृह मन्त्रालयका सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा पठाएकोछ । योसंगै अब बाँकेको प्रमुख जिल्ला अधिकारी सह–सचिव शिवराम गेलाल बाँके आउने भएका छन् ।
यस्तै ईलाका प्रशासन कार्यालय टिकापुर, कैलालीका उपसचिव शंकरबहादुर विष्ट सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा बाँके सरुवा भएकाछन् । यसैगरि अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ । नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्रलाई पठाइएको छ । लमजुङको प्रजिअमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ ।
बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ । राजेन्द्रदेव पाण्डेलाई बैतडीको प्रजिअ, नवराज सापकोटालाई रोल्पा, सुनिल खनाललाई डोटी र भरतमणि पाण्डेलाई मकवानपुरको प्रजिअ तोकिएको छ । गोपालकुमार अधिकारीलाई बाजुरा पठाइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ ।
