(Wednesday 28th of October 2026)
`

कोरोना संक्रमण बढेपछि भारतबाट फर्किन थाले नेपाली

  • सगरमाथा गन्तब्य
  • 17.1K
    SHARES

    नेपालगन्ज ११ चैत – नेपालको छिमेकी देशमा कोरोना संक्रमण बढेपछि नेपाली कामदार नेपाल फर्किन थालेका छन् । बबई गाउँपालिका–५, जलुके, दाङका चेतबहादुर बुढा नेपालगन्ज नाकाबाट नेपाल भित्रिनुभयो । उहाँलाई नेपालगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैले नरोकेपछि सरासर नेपालगन्ज भित्रिएको उहाँले बताउनुभयो ।
    भारतको चण्डीगढमा चौकीदारको काम गर्ने उहाँ लकडाउन खुकुलो भएपछि कामको खोजीमा पुनः चण्डीगढ जानुभएको थियो । कोरोनाका कारण भारतका विभिन्न सहरमा लकडाउन हुन थालेपछि हतार हतार घर फर्किएको उहाँले बताउनुभयो । गहुँ स्याहार्ने, मकै छर्ने बेला भएको छ । ‘लकडाउन भयो भने घर आउन पाइदैन भन्ने लागेर हतार हतार घर फर्किएँ,’ उहाँले भन्नुभयोे ।
    भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेपछि कामका लागि भारतमा रहेका नेपाली डराएको उहाँले बताउनुभयो । गत बर्ष जस्तै कोरोनाको महामारी फैलिन सक्ने भन्दै धेरै नेपालीले घर फर्किने मनस्थिती बनाएको उहाँको भनाई छ । धेरै नेपाली हेर र पर्खको अवस्थामा छन् । लकडाउन हुने संकेत देखिने वित्तिकै घर फर्किन मनस्थितीमा नेपाली छन्,’ उहाँले भन्नुभयो ।
    नलगाड नगरपालिका–१२, जाजरकोटका मोती विक पनि नेपालगन्ज नाका भएर नेपाल आउनुभएको छ । भारतको पञ्जावस्थित एक कम्पनीमा कार्यरत उहाँ पनि कोरोनाको सन्त्रासका कारण स्वदेश फर्किएको हुन् । १० चैत विहान नेपालगन्जमा फेला परेका उहाँले भारतमा कोरोना संक्रमण दर बढेपछि आत्तिएर नेपाल आएको बताउनुभयो । उहाँ पनि नाकामा कुनै परीक्षण नगरि नेपाल भित्रिएको बताउनुभयो । ‘कोरोना संक्रमण बढ्ने क्रम नरोकिए लकडाउन हुने हल्ला छ । गत बर्षको जस्तै बेहाल हुने डरले हतार हतार स्वदेश फर्किएँ,’ उहाँले भन्नुभयो, ‘नाकामा स्वास्थ्य परीक्षण हुन्छ भन्ने लागेको थियो, तर यहाँको हेल्थ डेस्कमा कोही पनि थिएनन् । सरासर नेपालगन्ज पुग्यौँ ।’
    अहिले भारत जानेभन्दा स्वदेश फर्किने नेपालीको संख्या धेरै भएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज सई विष्णु गिरीले बताउनुभयो । भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क राख्ने सुने पनि अहिलेसम्म काम सुरु नभएको उहाँले बताउनुभयो । गत बर्ष स्थापना गरिएको हेल्थ डेस्क पनि प्रयोग विहिन जस्तै छ । खुले पनि कर्मचारी बस्दैनन्,’ उहाँले भन्नुभयो ।
    उहाँले दैनिक सरदर सात सय नेपाली भारतबाट स्वदेश फर्किने गरेको बताउनुभयो । लकडाउनको हल्लासँगै अन्नपात स्याहार्ने समय भएकोले पनि नेपाली आउने क्रम बढेको उहाँको भनाई छ । अन्नपात स्याहार्ने र धान रोप्ने, मकै छर्ने समय हो । यो समयमा कामका लागि भारत गएकाहरु फर्किने समय पनि हो, तर फर्किने नेपालीमा लकडाउन र कोरोनाको सन्त्रास पनि देखिन्छ,’ सई गिरीले भन्नुभयो ।
    भारतबाट आएका नेपालीमा कोरोना संक्रमण देखिएपछि सरकारले नाकामा कडाई गर्न भनेको छ । (गोचालीबाट)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology