नेपालगन्ज, ०८ चैत – प्राचीनसिल आदिवासी समाज रेडियो गुर्वावा एफएम बर्दियाको आयोजनामा शनिवार र आइतवार आयोजित थारु संचारगृहमा थारु पत्रकारहरुको बर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थारु समाजको भाषा उत्थानका लागि थारु पत्रकारहरुले बढि कलम चलाउनुपर्ने कुरामा सहभागिहरुले जोड दिएका थिए । थारु समुदायको भाषा र संस्कृतिलाई उजागर गर्न थारु पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको उनिहरुले बताएका थिए ।

दुई दिन सम्म चल्ने अन्तरक्रिया कार्यक्रममा दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरका २५ जना थारु पत्रकारहरुको सहभागिता रहेको छ । थारु पत्रकारहरुको चुनौती र यसको समाधानका विषयमा कैलालीका पत्रकार गणेश थारुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गरेको कार्यपत्रमाथि सहभागि पत्रकारहरुले छलफल गरेका थिए । अरु समुदायको भाषा भन्दा आफ्नै मौलिक भाषा संस्कृतिलाई विर्सन नहुने उल्लेख गरेका थिए । आफ्नो भाषा संस्तृतिलाई जोगाउन थारु पत्रकारहरु बढि कलम चलाउन आवश्यक रहेको थारु पत्रकारका अगुवा तथा गुर्वावा एफएमका निर्देशक एकराज चौधरीले जानकारी गराउनुभयो ।
थारु पत्रकारहरुले आफ्नै मिडिया हाउस संचालन गरि प्रविधिसंग एकाकार भएमात्र रेडियो, पत्रिका र अनलाइनलाई बलियो आधार बनाउन सक्ने निर्देशक चौधरीले बताउनुभयो । थारु समुदायमा पछाडी परेका मुद्दालाई हामी थारु पत्रकारले एकमुष्ट उठान गर्न आवश्यक छ उहाँले भन्नुभयो ।

थारु समुदायको हक अधिकार, खाद्य अधिकार, स्वास्थ्य सुनिश्चितता बारे उठान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । थारु संचारगृहमा थारु पत्रकारहरुको बर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गुर्वाबा एफएमका अध्यक्ष सर्जने कामीले गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि सामुदायिक रेडियो प्रसारक संघ अकोरावका अध्यक्ष अर्जुन गिरी रहनुभएको थियो भने कार्यक्रमको संचालन एफएमका स्टेशन म्यानेजर पुष्पा चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष भगतराम थारु, कन्चनपुरका अध्यक्ष डिबी कुश्मी, धनगढीका पत्रकार पोखम चौधरी, पत्रकार विश्वराज पछल्डग्या, लगायतले थारु पत्रकारको अवस्था बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ५ वटै जिल्लामा देखिएको थारु समुदायमा पछाडी परेका मुद्दा तथा थारु पत्रकारहरुको भुमिका र अवस्था बारे छलफल गरिएको थियो ।

