नेपालगन्ज, २७ फागुन – राष्ट्रिय वाङमय गोष्ठी तथा लुम्बिनी प्रदेशिक महोत्सव २०७७ बिहीवारदेखि नेपालगन्जमा सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौं र भेरी साहित्य समाज केन्द्रिय कार्यालय नेपालगन्ज बाँकेको सयुक्त आयोजनामा राष्ट्रिय वाङमय गोष्ठी तथा लुम्बिनी प्रदेशिक महोत्सव २०७७ सुरु भएको हो ।
गोष्ठी तथा सांस्कृतिक महोत्सवमा ५ वटा कृति विमोचन समेत गरिएको छ । विभिन्न भाषाभाषीका कृतिमा प्यारा मुल्क नेपाल और प्यारी जवान उर्दु नामक कृति अव्दुल लतिफ शौकले विमोचन गर्नुभएको छ भने, समय समयका कुरा हिललाल ज्ञवाली, बैसुल्लो नामक कृति इश्वरी प्रसाद रिजाल, विद्रोहका तरंग कल्पना पौडेल जिज्ञासु, अस्कार ए शारिक नामक कृति शारिक रब्बानीले विमोचन गर्नुभएको छ ।
गोष्ठी तथा सांस्कृतिक महोत्सवमा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र छिमेकी देश भारतबाट समेत साहित्यकारहरु आएका थिए । कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

महोत्सवको अध्यक्षता भेरी साहित्य समाज केन्द्रिय कार्यालय नेपालगन्ज बाँकेका अध्यक्ष हरि तिमिल्सेनाले गर्नुभएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौं सदस्य सचिव जगत उपाध्यायले गर्नुभएको थियो । राष्ट्रिय वाङमय गोष्ठी तथा लुम्बिनी प्रदेशिक महोत्सव २०७७ बिहीवार र शुक्रवार दुई दिन चल्ने आयोजक टिमले जानकारी गराएको छ ।
महोत्सवमा कला प्रर्दशनी समेत गरिएको छ । कला प्रर्दशनीमा श्यामानन्द सिंह, विक्रम शिशिर, अश्विन कोइराला, डिबी भण्डारी, सुरज सुवेदी, खगेन्द्र बर्णवाल र उषा सुबेदीले कला प्रर्दशनीमा कलात्मक चित्रकला प्रस्तुत गरेका थिए । उद्घाटनमा साहित्यकार सनत रेग्मी, प्रगतिशिल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष वेदराज केसी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम शुक्रबार समापन हुनेछ ।
