(Wednesday 28th of October 2026)
`

तेस्रो राप्तीसोनारी गाउँपालिका स्तरिय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

  • सगरमाथा गन्तब्य
  • 14.6K
    SHARES

    राप्तीसोनारी २२ फागुन – तेह्रौ राष्ट्रपति कप रनिङ शिल्ड छनौट तथा तेस्रो राप्तीसोनारी गाउँपालिका स्तरिय अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०७७ शनिबारबाट सञ्चालनमा आएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम लौकीस्थित सिद्देश्वर महादेव माध्यामिक बिद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता संचालनमा आएको हो । राप्तीसोनारी गाउँपालिकाको आयोजना तथा सिद्देश्वर महादेव माध्यामिक बिद्यालय लौकीको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता गरिएको हो ।
    प्रतियोगिताको राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम प्रमुख अतिथी लाहुराम थारुले उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राप्तीसोनारी गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिइरहेको बताउनु भयो । ‘शिक्षाका लागि हामीले कहाँनिर के भुमिका खेल्नुपर्छ, हामी जहिले पनि तयार छौं,’ उहाँले भन्नुभयो ‘हामीले शिक्षालाई पहिलो प्राथमिकता राख्दा राख्दै पनि अझै धेरै काम गर्न बाँकी छन् ।’
    राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र ५४ वटा सामुदायिक, १८ वटा निजी तथा २ वटा मदरसा बिद्यालय रहेको जानकारी दिनुभयो । गाउँपालिकाले आफ्नो बजेटबाट शिक्षा क्षेत्रमा गरेको लगानीको प्रचार धेरै नगरेको बताउनु भयो । शिक्षा क्षेत्रको सुधारका लागि ब्यवस्थापन र नीतिगत रुपमा नेतृत्व गर्न तयार रहेको धारणा राख्नुभयो । कार्यक्रमका विशिष्ट अतिथी एवम् पुर्वमन्त्री प्रेमबहादुर भण्डारीले शिक्षा क्षेत्र सम्वेदनशिल रहेकाले यसको सुधारका लागि सरकारको चासो र चिन्ता अपरिहार्य रहेको बताउनु भयो ।
    विशिष्ट अतिथी एवम् राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले खेलकुदमा महिला सहभागिता बढ्दै गएकोमा खुसी ब्यक्त गर्नुभयो । स्वास्थ्यका लागि खेलकुद अति आवश्यक रहेकोमा जोड दिदै उहाँले यसका लागि गाउँपालिकाले विशेष प्राथमिकता दिइरहेको बताउनु भयो । गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले बालबालिकाले शैक्षिक क्रियाकलापका साथै खेलकुदमा आफ्नो प्रतिभा प्रस्तुत गर्न जरुरी रहेको बताउनु भयो ।
    उद्घाटन कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, जनशक्ती माध्यामिक बिद्यालय बालापुरका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका सदस्य मोहन गौतम, लक्ष्मी माध्यामिक बिद्यालय मदुईका प्रधानाध्यापक लक्ष्मण आचार्य, कुसुम ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष यमबहादुर खड्का लगायतले मन्तब्य दिनु भएको थियो ।
    यही फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राप्ती सोनारी क्षेत्रमा सामुदायिक र सस्थागत गरि कुल ५५ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले एथलेक्टिस, भलिबल खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद, शिल्ड लगायत पुरस्कारको ब्यवस्था मिलाइएको गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले जानकारी दिनुभयो ।
    उद्घाटन खेल सम्पन्न
    प्रतियोगितामा शनिबार नै मार्चपास, आधारभुत तर्फको १ सय मिटर छात्र छात्रा दौड तथा गणित र कुर्सी दौड सम्पन्न भएका छन् । प्रतियोगिताका सचिवालय संयोजक नन्दलाल बस्नेतका अनुसार आधारभुत तर्फको १ सयमिटर छात्र दौडमा नेरा माध्यामिक बिद्यालय गुलरीका राजन परियार पहिलो, शिवशक्ति माध्यामिक बिद्यालय पुरानीका ललित केसी दोस्रो र जनशक्ति माबि बालापुरका खेमराज खत्री तेस्रो स्थानमा आउनु भएको छ ।
    यस्तै छात्रा १ सय मिटर दौडमा शहिद स्मारक आधारभुत बिद्यालय खेरियाका गिता डाँगी प्रथम, शिद्धेश्वर मावि सिधनवाका रामकुमारी थारु दोस्रो र नेरा आधारभुत बिद्यालय टिकुलीपुरका सुमन थारु तेस्रो हुनु भएको छ । आधारभुत तह (१–३ कक्षा) को कुर्सी दौडमा नेरा मावि कुम्भरका सुशान्त थारु पहिलो, नेरा प्रावि खोकरीका करिस्मा पुन दोस्रो र कुसुमेश्वर मावि कुसुमका मञ्जु ओली तेस्रो हुनु भएको छ ।
    यसैगरी आधारभुत तह(४–५ कक्षा) को गणित दौडमा प्रथम सभ्यता इंगलिस मिडियम स्कुल कुसुमका एलिसा रावत प्रथम, सनराईज स्कुल ढकेरीका जेसिका गौतम दोस्रो र जनशक्ति मावि बालापुरका कौसल खड्का तेस्रो हुनु भएको छ । प्रतियोगितामा छात्र २८५ र छात्रा २३२ गरी कुल ५ सय १७ जना सहभागी भएको संयोजक बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा भलिबल खेलतर्फ छात्र र छात्राका १४÷१४ वटा टिम सहभागी भएको उहाँले बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology