नेपालगन्ज १८ फागुन- विहानदेखि अवरुद्ध सडक चक्काजाम खुलेको छ । मंगलवार सवारी दुर्घटनाको बिषयलाई लिएर कोहलपुर चौराहामा गरिएको चक्काजाम खुलिसकेको प्रहरीले जनाएको छ । मंगलबार बिहान किरणनाला नजिकै माइक्रो बसको ठक्करबाट एक जनाको मृत्यु र २ जना गम्भीर घाइते भएपछि उत्पन्न भएको जक्काजाम खुलेको प्रहरीले जनाएको हो ।
सोही बिषयलाई लिएर स्थानीयहरु कोहलपुर चौराहामा चक्काजाम गरेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पीडित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको चक्काजाम खुलेको हो ।
चक्काजाम साढे १२ बजेदेखि खुलेको थियो । दुर्घटना लगत्तै स्थानीयहरुले किरणनालामा समेत टायर बालेर प्रदर्शन गरेका थिए । केही बेर उक्त सडकखण्ड तनावग्रस्त बनेको थियो ।
बसको ठक्करबाट मोटरसाइलमा सवार कोहलपुर–३ का वीरेन्द्र शाहीको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बसले आफ्नै लेनमा रहेको शाहीले चलाइराखेको पश्चिमबाट पूर्व आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा परेर साइकल यात्री प्रदिप आचार्य र प्रकाश महतरा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटना लगत्तै फरार भएका बसका चालकले कोहलपुर प्रहरीमा आत्मसर्मपण गरेका थिए ।
