नेपालगन्ज, १८ माघ । केहीदिन यता अत्याधिक चिसो बढेपछि नेपालगन्जका विद्यालय ३ दिनका लागि बन्द हुने भएका छन् । अत्याधिक चिसो, हुस्सु र सितलहरका कारण सबैभन्दा बढि विद्यार्थीहरु मर्कामा परेको हुनाले ३ दिनका लागि विद्यालय बन्द गरिने निर्णय गरेको हो । नेपालगन्ज उपमहानगरपालिकाले आइतवार एक विज्ञप्ती सार्वजनिक गरि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्देशन दिएको छ ।
शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेपछि नेपालगन्जका सबै विद्यालय तीन दिनका लागि बन्द गरिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । शीतलहर र हुस्सुले गर्दा चिसो बढेपछि बालबालिकालाई प्रभाव पर्ने हुँदा सोमवारदेखि बुधवारसम्मका लागि ३ दिन विद्यालय बन्द गर्ने नेपालगन्ज उपमहानगरको शिक्षा शाखाले निर्णय गरेको शाखाका प्रमुख गोरखबहादुर थापाले जानकारी गराउनुभयो ।
उपमहानगरपालिकाका सबै निजी, सरकारी विद्यालय र मदरसाहरुलाई पत्र पठाइसकेको नेपालगन्ज उपमहानगरको शिक्षा शाखाका प्रमुख गोरखबहादुर थापाले जानकारी गराउनुभयो । उहाँले बुधवारसम्म पनि मौसममा सुधार नआए शुक्रवारसम्म विद्यालय बन्द गर्न विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय राँझाका अनुसार गत केहीदिनदेखि निरन्तर नेपालगञ्जको तापक्रम घट्दै गएको छ । आइतवार नेपालगन्जको तापक्रम अधिकतम १७ दशमलव ७ सेल्सियस र न्यूनतम ५ सेल्सियस डिग्रीसम्म पुगेको सो कार्यालयले जनाएको छ ।
चिसोका कारण जनजीवन अत्याधिक प्रभावित बनेको छ । शित लहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको हो । शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र बृद्धबृद्धाहरुलाई पनि यसले प्रभाव पारेको छ ।
शीतलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण केहीदिन यता नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् ।
पहाडी जिल्लाहरु हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि विहान हुने हवाई उडानमध्ये अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाइ हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । सोही प्रकारले संघीय राजधानी काठमाण्डौका लागि बिहान र बेलुका हुने हवाई उडान पनि प्रभावित भैरहेको सो कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो ।

